कतारमा नेपाली वस्तु निर्यातका लागि पहल

सोमबार, वैशाख १८, २०८०

काठमाडौं–कतारमा नेपाली वस्तु निर्यातका सम्बन्धमा नेपाल निर्यात व्यवसायी महासंघले छलफल थालेको छ । 

निर्यात व्यवसायी महासंघ नेपाल र नेपाल व्यवसायी संघ (कतार) बीच भएको छलफलमा कतारमा नेपाली वस्तुको निर्यात कसरी बढाउन सकिन्छ भन्ने विषयमा कुराकानी भएको थियो ।

नेपाल निर्यात व्यवसायी महासंघका तर्फबाट अध्यक्ष शंकरप्रसाद पाण्डेयको नेतृत्त्वमा रहेको पदाधिकारी र नेपाल व्यवसायी संघ (कतार)का अध्यक्ष महेन्द्र चाम्लागाइँको नेतृत्वमा रहेको सात सदस्यीय टोलीबीच छलफल भएको थियो । 

‘नेपाली वस्तुलाई कतारमा कसरी निर्यात बढाउन सकिन्छ भन्ने विषयमा हामीबीच गम्भीर छलफल भएको छ,’ पाण्डेले भने, ‘कुन–कुन वस्तुलाई पठाउन सकिन्छ भनेर पनि छलफल थालेका छौँ । नयाँ बजारको खोजीका लागि यहाँ कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ ।’

नेपाली वस्तुहरुको बजार खोज्ने र ती वस्तुहरु बजारमा कसरी स्थापित गर्ने भन्ने बारेमा छलफल भएको थियो ।

त्यसैगरी कतारमा नेपाल हाउस खोल्ने र आगामी अक्टुबरमा कतारमा हुन लागेको अन्तर्राष्ट्रिय एक्स्पोमा नेपालको सहभागिताका लागि पहल गर्न सरकारको पनि ध्यानाकर्षण गराउने विषयमा कुराकानी भएको छ ।

‘कतारमा नेपाल हाउस खोल्ने र कतारमा अक्टुबरमा हुने अन्तर्राष्ट्रिय एक्स्पोमा ७२ देशका प्रतिनिधि सहभागी हुँदा नेपालले पनि कसरी सहभागिता जनाउन सक्छ भन्ने विषयमा कुराकानी भयो’, पाण्डेले भने, ‘त्यहाँ भोलिका दिनमा हाम्रा व्यापार वृद्धिका लागि कसरी अघि बढ्न सकिन्छ भनेर दुई देशका व्यवसायीबीच यसअघि नै सम्झौतामा हस्ताक्षर भएको छ ।’

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १५:५८
प्रतिक्रिया दिनुहोस्