नेभिगेशन
अर्थ विविध

विद्युत प्राधिकरणका कर्मचारीलाई लाग्यो चुनाव

काठमाडौँ– देशकै सबैभन्दा ठूलो सार्वजनिक संस्थान नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरूलाई चुनाव लागेको छ । आधिकारीक निर्वाचनका लागि संस्थानमा क्रियाशील ट्रेड युनियनहरू नेतृत्व लिनका लागि प्रचारप्रसारमा लागेका छन् । 

वैशाख २८ गते हुने निर्वाचनका लागि चार वटा ट्रेड युनियनका अगुवाहरू प्राधिकरणको देशभर रहेका कार्यालयहरूमा पुगेर आफ्नो पक्षमा मत पार्नका लागिपरेका छन् । प्राधिकरणमा क्रियाशील ट्रेड युनियनमध्येबाट आधिकारिता प्राप्त गरेपछि दुई वर्षका लागि निर्वाचन हुन लागेको हो । 

प्राधिकरणको आधिकारीक ट्रेड युनियन निर्वाचन–२०८० निर्वाचनका लागि देशभरका ८ हजार ५ सयभन्दा बढी कर्मचारीले मतदान गर्नेछन् । नेपालका ४४ वटा सार्वजनिक संस्थानमध्ये हाल ४२ वटा संस्थान सञ्चालनमा रहेका छन् । त्यसमध्येको सबैभन्दा ठूलो संस्था विद्युत प्राधिकरण हो । 

प्राधिकरणको गतिविधिलाई थप प्रभावकारी तुल्याउनका लागि भन्दै आधिकारिक ट्रेड युनियनको निर्वाचन हुँदै आएको छ । प्राधिकरणमा सरकारको शतप्रतिशत सेयर स्वमित्व छ ।

राष्ट्रिय कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष माधव अधिकारीले संस्थाको गर्विलो इतिहासलाई अझ उजिल्याउने कार्यमा योगदान पुर्‍याउने उद्देश्यका साथ आफूहरु निर्वाचनमा होमिएको बताए ।

आधिकारिक ट्रेड युनियनको निर्वाचन २०७६ सालमा भएको थियो । त्यो बेलाको निर्वाचन राष्ट्रिय कर्मचारी युनियनले जितेको थियो । प्रत्येक दुई वर्षमा हुनुपर्ने निर्वाचन कोभिड–१९ महामारी र आम निर्वाचनका कारण पछि सरेको थियो । निर्वाचित ट्रेड युनियनको प्रतिनिधि प्राधिकरणको सर्वोच्च कार्यकारी निकाय सञ्चालक समितिमा आमन्त्रित सदस्यका रुपमा रहन पाउने कानुनी व्यवस्था रहेको छ ।

कर्मचारी सङ्घका अध्यक्ष जनार्दन भट्टराईले संस्थाको स्थायित्व र कर्मचारीको सेवा सुविधाका विकासको एजेण्डा लिएर आधिकारीक ट्रेड युनियनको निर्वाचनमा आफूहरु लागेको बताए ।

विद्युत प्राधिकरणमा स्थायी, अस्थायी र ज्यालादारी गरेर एक हजार ४ सय कर्मचारी रहेका छन् । यद्यपि, प्राधिकरणको स्थायी ११ हजार दरबन्दी रहेको छ । एक तहदेखि नौ तहसम्मका कर्मचारीले मतदान गर्न पाउँछन् । कार्यालय प्रमुख, बजेट केन्द्र प्रमुख र १० तहदेखिका कर्मचारीले भोट हाल्न पाउँदैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध

आहा ! ढोरपाटन