चितवनका गाईभैँसीमा देखियो लम्पीस्किन रोग

शुक्रबार, वैशाख १५, २०८०

चितवन– जिल्लाका गाईभैँसीमा लम्पीस्किन रोग देखापरेको छ । यो रोग ‘क्याप्री पोक्स’ नामक जिवाणुका कारण हुने गर्दछ । 

गर्मी याममा लामखुट्टे, झिङ्गालगायतका कारण यो रोगको प्रकोप देखिने गरेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत रामचन्द्र आचार्यले जानकारी दिए ।

उनका अनुसार विगत केही दिनदेखि जिल्लामा यो रोगको सङ्क्रमण फैलिएको छ । अहिले जिल्लामा दुई सयभन्दा बढी गाईभैँसीमा यो रोग देखिएको उनले जानकारी दिए । 

इच्छाकामना गाउँपालिका, कालिका, खैरहनी र राप्ती नगरपालिकामा यो रोगको सङ्क्रमण बढ्दो क्रममा रहेको आचार्यले बताए । गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, थुतुनो, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्याल काढ्ने, लिम्फनोडहरू सुक्नेजस्ता लक्षण देखापर्छ । 

यो रोग विशेषगरी सङ्क्रमित लामखुट्टे, झिङ्गालगायतको टोकाइबाट लाग्ने गर्दछ । सङ्क्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ । 

यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिङ्गा, लामखुट्टे तथा अन्य कीराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने आचार्यले बताए । रोग लाग्नबाट बचाउनका लागि लम्पीस्किनविरुद्धको खोप लगाउन आवश्यक रहेको उनको भनाइ छ । यो रोग जिल्लामा गत आर्थिक वर्षदेखि  देखापरेको हो ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  ०९:५८
प्रतिक्रिया दिनुहोस्