नेभिगेशन
समाज विविध

सर्वोच्चको न्यायाधीशमा पोखरेल, पौडेल र थापाले पाउने भए नियुक्ति, संसदीय समितिबाट अनुमोदन

काठमाडौं। सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीश संसदीय सुनुवाई समितिबाट अनुमोदन भएका छन्। समितिले सुनुवाई गरेको एक सातापछि प्रस्तावित तीन न्यायाधीशको नाम सोमबार अनुमोदन गरेको हो।

न्याय परिषद्ले गत जेठ २७ गते वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो।

पोखरेल र पौडेलविरुद्ध दुई/दुई तथा थापाविरुद्ध एउटा उजुरी परेकामा समितिले असार १५ र १६ गते सुनुवाई गरेको थियो। समितिले सिफारिस अनुमोदन गरेसँगै पोखरेल, पौडेल र थापाले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति पाउने ढोका खुलेको छ।

न्याय परिषद्को सिफारिस समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। समितिले न्याय परिषद्का प्रस्तावित सदस्य महेश नेपालको नाम पनि अनुमोदन गरेको छ। उनीविरुद्ध उजुरी परेको थिएन।

उनलाई परिषद्‍को सदस्य नियुक्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरेका हुन्। समितिले सिफारिस अनुमोदन गरेसँगै नेपालले पनि नियुक्ति पाउने ढोका खुलेको छ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

बागमती प्रदेश सभा बैठक बस्दै