नेभिगेशन
समाज विविध

ज्ञानेन्द्र शाह ७९ औं वर्षमा, निर्मल निवासमा शुभकामना दिनेको भीड

काठमाडौं- ज्ञानेन्द्र शाह आज ७९ औं जन्मदिन मनाउँदैछन् ।

जन्मदिनका अवसरमा शाहलाई राजतन्त्र समर्थकदेखि सर्वसाधारणले बधाई तथा शुभकामना दिएका छन् । शाहको जन्म वि.स. २००४ असार २३ गते नारायणहिटी राजदरबारमा राजा महेन्द्र र रानी रत्नको माइलो छोराको रुपमा भएको थियो । जन्मदिनको अवसरमा शुभकामना दिन निर्मल निवासमा अहिले शुभेच्छुकहरूको भीड लागेको छ । शुभेक्षुकहरूका लागि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास खुल्ला रहने जनाएको छ । राजगद्दीका उत्तराधिकारी नभए पनि उनी आफ्नो जीवनकालमा दुई पटक राजा भए ।

पहिलो पटक बाल्यकालमा विसं २००७ सालमा राजा बनेका थिए, जतिबेला उनको उमेर साढे तीन वर्ष मात्र थियो । हजुरबुबा राजा त्रिभुवन छोरा महेन्द्र र अन्य शाही परिवारका सदस्यहरूलाई लिएर भारतमा शरण लिन गएपछि तत्कालीन प्रधानमन्त्री मोहन शमशेरले ज्ञानेन्द्रलाई गद्दीमा बसालिदिएका थिए । वि.सं. २००७ को दिल्ली सम्झौतापछि राणा शासनको अन्त्य भयो र राजा त्रिभुवन नेपाल फर्केर पुनः राजगद्दी सम्हाले । यसरी, ज्ञानेन्द्रको पहिलो शासन छोटो समय (वि.सं. २००७ कात्तिक २२ देखि फागुन ७ सम्म) का लागि मात्र रह्यो ।

दोस्रो पटकको गद्दी आरोहण झनै अप्रत्याशित थियो । २०५८ सालमा भएको दरबार हत्याकाण्डमा राजा वीरेन्द्र शाहको परिवारै सखाप भएपछि फेरि ज्ञानेन्द्रले नै गद्दी सम्हाल्नुपर्‍यो । सुरुमा युवराज दीपेन्द्रलाई राजा घोषणा गरिएको थियो, तर उनको मृत्यु भएपछि ज्ञानेन्द्र राजा बने । २०६१ साल माघ १९ मा ज्ञानेन्द्रले लोकतान्त्रिक सरकार विघटन गर्दै कार्यकारी शासन सम्हाले, जसले व्यापक विरोध निम्त्यायो । त्यही कदमले उनलाई विवादास्पद बनायो । २०६२/६३ को जनआन्दोलनपछि राजतन्त्रको अन्त्य भयो र नेपाल गणतन्त्र घोषित भयो ।

राजा ज्ञानेन्द्रले २०६५ जेठ १५ मा नारायणहिटी दरबार खाली गरे र नागार्जुन दरबारमा सरे । त्यसयता उनी पूर्वराजाका रूपमा सामान्य जीवन बिताइरहेका छन् । शाह अहिले जनआन्दोलनको बलमा तेस्रो पटक राजा बन्न प्रयासरत छन् । केही अगाडिदेखि उनी आफ्नो गतिविधिहरू बढाइरहेका छन् । उनले आफूलाई साथ दिन सार्वजनिक अपिल समेत गरेका थिए । त्यसपश्चात् राजावादी शक्तिहरू एकजुट भएर आन्दोलनमा उत्रिए पनि त्यो सफल हुन सकेन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

बागमती प्रदेश सभा बैठक बस्दै