सहिद स्मारक ‘ए’ डिभिजन : मच्छिन्द्र र एफसी विजयी

शनिबार, वैशाख ९, २०८०

काठमाडौं –सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा साविक विजेता मच्छिन्द्र फुटबल क्लबले फ्रेन्ड्स क्लबविरुद्ध सहज जित निकालेको छ ।

शनिबार च्यासल मैदानमा भएको खेलमा मच्छिन्द्रले फ्रेन्ड्सलाई २–१ ले हरायो । मच्छिन्द्रको जितमा चेन्चो ग्याल्सेन र देवेन्द्र तामाङले एक÷एक गोल गरे ।

खेलको ४५औँ मिनेटमा ग्याल्सेनले गोल गर्दै मच्छिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए । ६३औँ मिनेटमा देवेन्द्रले गोल गर्दै मनाङलाई २–० को अग्रता दिलाए । ७६औँ मिनेटमा फ्रेन्ड्सका अमिनुले एक गोल फर्काए ।

जारी लिगमा मच्छिन्द्रको यो चौथो जित हो । मच्छिन्द्रले ११ खेलबाट १६ अंक जोडेको छ । फ्रेन्ड्सको ११ खेलमा ११ अंक छ ।

त्यस्तै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार मनाङलाई एफसी खुमलटारले २–१ गोल अन्तरले पराजित गर्यो । खुमलटारको जितमा मेसुके ओलुमोउले दुई गोल गरे । 

मनाङका कोफी टिमोथी कुडोले एक गोल फर्काए । खेलको १३ औं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दै खुमलटारलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ५३ औं मिनेटमा मनाङका कोफी टिमोथी कुडोले पेनाल्टीमा गोल गर्दै मनाङलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । 

खेलको इन्जुरी समयमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारलाई २–१ को जित दिलाए । खुमलटारको यो चौंथो जित हो । खुमलटारले ११ खेलमा १३ अंक जोडेको छ । मनाङको यो लगातार चौंथो हार हो । मनाङले ११ खेलमा १५ अंक जोडेको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  १९:१६
प्रतिक्रिया दिनुहोस्