गण्डकी : मुख्यमन्त्री अधिकारीद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस (पूर्ण पाठसहित)

शनिबार, वैशाख ९, २०८०

पोखरा –गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् ।  सत्ता साझेदार दल माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार उनले विश्वासको मत लिन लागेका हुन् । 

एमाले नेता अधिकारी नेतृत्वको सरकारबाट चैत १० गते माओवादी बाहिरिएको थियो । संविधानमा सरकारमा सामेल दलले समर्थन फिर्ता लिए मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । मुख्यमन्त्री अधिकारीले आफूले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव राख्ने पत्र बिहीबार नै प्रदेश सभा सचिवालयलाई पठाएका थिए । सोही अनुसार शनिबारको प्रदेश सभाको बैठकमा कार्यसूची तयार छ । 

६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादीका (समामुखसहित) ८, राप्रपाका २ र १ स्वतन्त्र सांसद छन् । मुख्यमन्त्री अधिकारीलाई राप्रपाको साथ छ । तर अर्को घटक माओवादीले मत नदिने हो भने उनले विश्वासको मत प्राप्त गर्नसक्ने अवस्था छैन । 

मुख्यमन्त्री अधिकारी बहिर्गमनमा परे संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभाका सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्नसक्ने छन् । 

पाण्डे मुख्यमन्त्री नियुक्त भए उनले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । पाण्डेसँग माओवादी केन्द्रले सत्ता साझेदारी गर्न समझदारी भइसकेको छ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  १६:४७
प्रतिक्रिया दिनुहोस्