Nic Ad Nic Ad
Nic Ad Nic Ad

बेनीमा लक्ष्यअघि नै सडक कालोपत्र

मंगलबार, वैशाख ५, २०८०

म्याग्दी– जिल्लाको बेनी नगरपालिका–६ अर्थुङ्गेमा सञ्चालित सडक कालोपत्र (पिच) योजना लक्ष्यभन्दा साढे तीन महिनाअघि नै सकिएको छ । ढिलासुस्तीले अधिकांश विकास आयोजना थला परेको अवस्थामा अर्थुङ्गेमा भने लक्ष्यअघि नै सडक निर्माण भएको हो ।

गण्डकी प्रदेश सरकारको बेनी–अर्थुङ्गे–घतान–तोरीपानी हुँदै पाखापानी सडक योजनाअन्तर्गत पूर्वाधार विकास कार्यालयमार्फत कालोपत्र भएको हो । अर्थुङ्गेमा दुई सय १७ मिटर सडक कालोपत्र, नाली, पर्खाल निर्माण गर्न श्रमजिवी निर्माण सेवाले विसं २०७९ मङ्सिर १९ गते ठेक्का सम्झौता गरेको थियो ।

पूर्वाधार विकास कार्यालयका अधिकृत अर्जुन शर्माका अनुसार रु ३२ लाख ६२ हजार नौ सय ५१ मा ठेक्का सम्झौता भएको आयोजनाको म्याद २०८० असार १५ गतेसम्म थियो । निर्माण कम्पनीले लक्ष्यभन्दा साढे तीन महिनाअघि नै सडक निर्माण गरेको अधिकृत शर्माले बताए । 

सरदर पाँच दशमलव पाँच मिटर चौडाइका दरले कालोपत्र गरिएको छ । यसअघि गत वर्ष पनि पूर्वाधार विकास कार्यालयमार्फत रु २८ लाख ५२ हजारमा अर्थुङ्गे–देउराली देखि एक सय ७० मिटर सडक कालोपत्र गरिएको थियो । निर्माण कम्पनीका सञ्चालक प्रकाश बानियाँले समयमै पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्री जुटाएर लक्ष्यअघि नै सडक निर्माण गरेको बताए । 

सडक कालोपत्र भएपछि हिउँदमा धुलो र बर्खामा हिलाम्मे हुने समस्या हटेको अर्थुङ्गेका बासिन्दाले बताएका छन् । प्रदेश  सरकारले कालोपत्र गरेको भन्दा अगाडिदेखि एक्लेपिपल, जामुनाखर्क, जम्रेनी खण्डमा बेनी नगरपालिकामार्फत नाली निर्माण र ढलानको काम अन्तिम चरणमा पुगेको छ ।

यो सडक बेनी नगरपालिकाको ६, ९, १०, रघुगङ्गा गाउँपालिकाको ५, ६ र ८ नं वडाका बासिन्दाले सदरमुकाम बेनी आउन जान प्रयोग गर्छन् । बेनीबाट अथुङ्गे म्मको तीन किलोमिटरमध्ये अधिकांश खण्डमा ढलान र कालोपत्र भए पनि यातायात भाडा भने कच्चीसरह तिर्नुपरेको अर्थुङ्गेका मुक्ति ढुङ्गानाले गुनासो गरे ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  ०९:५२
प्रतिक्रिया दिनुहोस्