मेयर बालेनविरुद्ध सर्वोच्चमा रिट दायर

सोमबार, वैशाख ४, २०८०

काठमाडौं- सिंहदरबारभित्रको फोहोर नउठाएको विषयमा काठमाडौं महानगरपालिकाविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

वातावरण संरक्षणको क्षेत्रमा काम गर्दै आएका अधिवक्ता पदमबहादुर श्रेष्ठले सिंहदरबारभित्रको फोहोर नउठाएका कारण जनस्वास्थ्यमा नकारात्मक असर परेको भन्दै फोहोर उठाउन काठमाडौं महानगरपालिकाविरुद्ध आदेश माग गर्दै रिट दायर गरेका हुन् ।

संघीय सरकारले आफूले राखेको माग पूरा नगरेको भन्दै महानगरपालिकाका मेयर बालेन शाहले फोहोर संकलन गर्ने कम्पनीलाई सिंहदरबारभित्रको फोहोर नउठाउन निर्देशन दिएका छन् ।

मेयरको निर्देशनपछि ९ दिनदेखि सिंहदरबारभित्रको फोहोर संकलन भएको छैन ।काठमाडौंको सुकुम्बासी बस्ती हटाउन गृह मन्त्रालय र स्थानीय प्रशासनले सहयोग नगरेको भन्दै उनले आक्रोश पोखेका थिए । महानगरपालिकाले फोहोर नउठाउने घोषणा गरेपछि सरकारले समेत उनलाई सचेत गराउने निर्णय गरेको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १७:३६
प्रतिक्रिया दिनुहोस्