Nic Ad Nic Ad
Nic Ad Nic Ad

रविको ड्राइभर छतबाट खस्दा मुकुलको ड्राइभर प्रहरी नियन्त्रणमा

सोमबार, वैशाख ४, २०८०

काठमाडौं - चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा व्यस्त रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उम्मेदवार रवि लामिछानेको सवारी चालक छतबाट खसेपछि घटना अनुसन्धानका लागि पार्टी महामन्त्री मुकुल ढकालका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार छतबाट खसेका लामिछानेका चालक शम्भु भनिने दिलबहादुर थापासँगै महामन्त्री ढकालका चालक कालुराम राजवंशी सुतेका थिए। सोही कारण अनुसन्धान गर्न प्रहरीले राजवंशीलाई नियन्त्रणमा लिएको हो।

भरतपुर महानगरपालिका वडा नं. ११ मा रहेको लामिछानेको घरको तेस्रो तलाबाट सोमबार बिहान ३ः४५ बजे लामिछानेका सवारी चालक दिलबहादुर थापा खसेर घाइते भएका थिए। उनी खस्दै गरेको र भुइँको गमलामा टाउको ठोक्किएको सिसिटिभी फुटेजमा देखिएको प्रहरी अनुसन्धानमा खुलेको छ।

सवारी चालक थापा कसरी छतबाट खसे भन्ने बारेमा थप अनुसन्धान गरेर मात्रै बाँकी कुरा सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । उनीसँगै सुतेका र राति २ बजेसम्म कोठाको बत्ती बालेर दुईजना गफ गरिरहेको बुझिएकोले अनुसन्धान गर्न महामन्त्री ढकालका सवारी चालक कालुराम राजवंशीलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतको भनाइ छ।

थापा छतबाट खसेलगत्तै दुई जनाले उठाएको सीसीटिभी फुटेजमा देखिएको पनि प्रहरी भनाइ छ। तर, यत्रो घटना हुँदा पनि रास्वपा सभापति रवि लामिछानेले भने अहिलेसम्म घटनाका बारेमा केही बताएका छैनन् ।

आइतबार दिनभर घरदैलो र तनहुँको दमौलीमा आयोजित चुनावीसभा सकेर राति लामिछाने थापाले चलाएकै गाडीमा घर आएका थिए । उनीहरू सोमबार बिहान भरतपुरमा घरदैलो गरेर बारा जाने कार्यक्रम थियो ।

यसैगरी, घाइते चालक थापाको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको टाउकोको शल्यक्रिया गरिएको कलेजका न्युरो सर्जन डा. विनोद भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १५:४५
प्रतिक्रिया दिनुहोस्