सहिद स्मारक ‘ए’ डिभिजन : मनाङलाई हराउँदै जावलाखेल शीर्ष स्थानमा, मछिन्द्र र एनआरटी बराबरीमा

शनिबार, वैशाख २, २०८०

काठमाडौं –जावलाखेल युथ क्लब राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । 

शनिबार ललितपुरस्थित च्यासल मैदानमा भएको खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई ३–० गोल अन्तरले हराउँदै जावलाखेल शीर्ष स्थानमा उक्लिएको हो । 

जावलाखेलको जितमा एनकोटो मासोबीले दुई गोल गरे । फोडे फोफानाले एक गोल थपे । 

यस जितसँगै जावलाखेलले ९ खेलमा १७ अंक जोडेको छ । मनाङ १५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्र क्लबले न्युरोड टिम एनआरटीसँग १–१ गोलको बराबरी खेलेको छ । खेलको ३९ औं मिनेटमा ओमालाजा नुरेन करिमले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए ।  

तर, खेलको ६७ औं मिनेटमा स्टेफन जुनियरले गोल गर्दै एनआरटीलाई १–१ गोलको बराबरीमा ल्याए । 

यस बराबरीसँगै  मछिन्द्रले ९ खेलमा १३ अंक जोडेको छ । एनआरटीले ८ खेल ७ अंक जोडेको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  १८:०७
प्रतिक्रिया दिनुहोस्