न्युजिल्यान्डविरुद्ध पहिलो ट्वान्टी २० पाकिस्तानको विजयी सुरुआत

शनिबार, वैशाख २, २०८०

काठमाडौं– पाकिस्तान भ्रमणमा रहेको न्युजिल्यान्डले पहिलो ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा शुक्रबार राति घरेलु टिमविरुद्ध ८८ रनको पराजय भोगेको छ । करिब एक महिना लामो भ्रमणमा रहेको न्युजिल्यान्डले पाँच खेलको ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलापछि एक दिवसीय अन्तर्राष्ट्रिय पनि खेल्ने छ ।

एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला पनि पाँच खेलको हुनेछ । लाहोरस्थित गद्दाफी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ थालेको पाकिस्तानले १९.५ ओभरमा सबै विकेट गुमाएर एक सय ८३ रनको योगफल पछ्याएको थियो ।

दोस्रो हाफमा एक सय ८३ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १५.३ ओभरमा सबै विकेट गुमाउनुअघि ९४ रन मात्रै बनाउन सक्यो ।

न्युजिल्यान्डका लागि माक्क च्याम्पम्यानले ३४ तथा कप्तान टम लथामले २० रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

पाकिस्तानका लागि ह्यारिस रौफले ३.३ ओभरमा १८ रन खर्चिएर सर्वाधिक चार विकेट लिए । इमाद वासिमले दुई विकेट लिँदा अन्य चार बलरले एक–एक विकेट लिएका थिए ।

पाकिस्तानका लागि फकर रहमान र सैम आयुबले ४७–४७ तथा फशिम अस्रफले २२ रनको योगदान गरेका थिए ।

न्युजिल्यान्डका लागि म्याट हेनरीले सर्वाधिक तीन तथा आडम मिल्न र बेन लिस्टरले दुई–दुई विकेट लिए । अन्य दुई बलर इश सोधी जेम्स निशमले एक–एक पाकिस्तानी बलरलाई पभिलियन फर्काएका थिए ।

इन्डियन प्रिमियर लिग (आईपीएल)को उद्घाटन खेलमा घुँडामा लागेको चोटका कारण नियमित कप्तान केन विलियमसन बिना नै न्युजिल्यान्डको टिम पाकिस्तान पुगेको थियो ।

उनको अनुपस्थितिमा न्यजिल्यान्डको नेतृत्व टम लथामले गरेका छन् । बाबर आजमको कप्तानीमा घरेलु मैदानमा उत्रिएको पाकिस्तानले शृंखलामा १–० को अग्रता बनाएको छ ।

सुरआती तीन ट्वान्टी २० अन्तर्राष्ट्रिय लाहोरमै हुनेछन्। त्यसपछिका दुई अर्थात् चौथो र पाँचौं खेल रावलपिन्डीमा हुनेछन् ।

एकदिवसीय शृंखलाका सुरुआती दुई खेल रावलपिन्डीमै खेलेर न्युजिल्यान्ड र पाकिस्तान बाँकी खेलका लागि कराँची पुग्ने छन् ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  १३:२५
प्रतिक्रिया दिनुहोस्