नेभिगेशन
समाज विविध

मोरङमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, १८ घाइते

विराटनगर–मोरङको रंगेली नगरपालिका–३ आमतोलामा शनिबार ट्याक्टर दुर्घटना हुँदा एक जना वृद्धाको मृत्यु भएको छ भने सवार १८ जना घाइते भएका छन् ।

तेतरिया–आमतोला भित्री सडकखण्ड हुँदै पूर्वतर्फ गइरहेको प्रदेश १–०१–००१ त ९५५३ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भएर बिहान १०ः१० बजेतिर दुर्घटनामा परेको मोरङ  प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार दुर्घटनामा मोरङको ग्रामथान गाउँपालिका– ५ की ६० वर्षीया वैशाखी चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा मोरङको ग्रामथान गाउँपालिका– ३ की २० वर्षीया जानकीकुमारी माझी, ग्रामथान–५ की ४० वर्षीया किचनीवती चौधरी, रंगेली –२ की सुनवर्ती चौधरी, २७ वर्षीया जितनी चौधरी, उनका छोरा ३ वर्षीय रायन चौधरी, ग्रामथान –५ की ४३ वर्षीया पूर्णसरी चौधरी, ५० वर्षीय टीकाराम माझी, विराटनगर महानगरपालिका –४ की ३५ वर्षीया सुशीला चौधरी, ५५ वर्षीय टेकनारायन माझी, ग्रामथान– ५ की २६ वर्षीया अनिता माझी, ६५ वर्षीया दुखिया चौधरी, मधुराम माझी, ५० वर्षीय गुलाबचन माझी, ३५ वर्षीया रीता चौधरी, २५ वर्षीया सुनीता भगत, रीताकुमारी माझी, उनका छोरा ५ वर्षीय रितेष माझी र  ग्रामथान–६  का ४३ वर्षीय सत्तुलाल माझी घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । घाइतेहरुको रंगेली र विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

दुर्घटनालगत्तै ट्याक्टर चालक ग्रामथान–५ का अन्दाजी ३१ वर्षीय बालक माझी फरार बनेका छन् । उनको खोजी पारिएको डीएसपी दाहालले बताए । उनका अनुसार रंगेलीमा रहेको सन्सारीमाई मन्दिरमा पूजाका लागि तेतरियाबाट हिँडेकाहरु सवार ट्याक्टर दुर्घटनामा परेको हो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

बागमती प्रदेश सभा बैठक बस्दै