तनहुँ- १ : मंसिर ४ मा रामचन्द्र पौडेलले नै गुमाएका थिए ७ हजार ७ सय कांग्रेसीको भोट

शुक्रबार, वैशाख १, २०८०

काठमाडौँ– बैशाख १० गते उपनिर्वाचनको चुनावी सरगर्मी बढेको छ । बारा २, चितवन २ र तनहु १ मा हुने प्रतिनिधि सभा निर्वाचनको लागि राजनीतिक दलहरु भोट माग्नको साथै विगत परिणामको जोड घटाउमा लागेका छन् ।

यसै सन्दर्भमा हामीले तनहु १ मा मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा तथा त्यसअघि २०७९ बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत परिणाम विश्लेषण गरेका छौं । 

तनहु १ बाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा २०८० बैशाख १० गते उपनिर्वाचन हुन लागेको हो । पौडेल नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेर निर्वाचित भएका थिए ।

बैशाख ३० देखि मंसिर ४ सम्म आइपुग्दा तनहु १ मा नेपाली कांग्रेसले भोट घटाउँदै लगेको देखिन्छ । ३० बैशाख २०७९ मा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका वडा अध्यक्षहरुले ३३ हजार १०६ मत ल्याएका थिए । तर, मंसिर ४ मा भएको प्रतिनिधि सभा सदस्यमा निर्वाचित कांग्रेस नेता रामचन्द्र पौडेलले २५ हजार ३६१ मत मात्रै पाए । यसरी हेर्दा बैशाख ३० को तुलनामा मंसिर ४ मा कांग्रेसको ७ हजार ७४५ मत घटेको देखिन्छ ।

यद्यपि, गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा निर्वाचनमा नेपाली काँग्रेसले प्रतिनिधि सभाको लागि समानुपातिकमा पाएको मत भने प्रत्यक्षतर्फका उम्मेदवार रामचन्द्र पौडेलले पाएको भन्दा बढी देखिन्छ । सो निर्वाचनमा प्रत्यक्षतर्फ पौडेलले २५ हजार ३६१ मत पाएका थिए भने समानुपातिकतर्फ कांग्रेसले २० हजार १५८ मत पाएको थियो । अर्थात मंसिर ४ मा कांग्रेसले समानुपातिकमा २० हजार १५८ मत पाउँदा कांग्रेस उम्मेदवार पौडेलले प्रत्यक्षतर्फ भने २५ हजार ३६१ मत पाएका थिए । 

मंसिर ४ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित कांग्रेस नेता पौडेल तत्कालिन सत्ता गठबन्धनका साझा उम्मेदवार थिए । त्यसैले पौडेलले पाएको मतलाई कांग्रेसको मात्रै मत भन्न सकिने अवस्था छैन । यद्यपि, बैशाख १० मा हुने उपनिर्वाचनमा पनि तत्कालिन सत्ता गठबन्धनकै दलहरु एक ठाउँमा छन् र उनीहरुको साझा उम्मेदवारको रुपमा नेपाली कांग्रेसको नेता गोविन्द भट्टराई उम्मेदवार बनेका छन् ।

प्रतिनिधि सभाको लागि तनहु १ भित्र पर्ने निर्वाचन क्षेत्रमा प्रदेश सभाको लागि २ निर्वाचन क्षेत्र छन् । प्रदेशसभा १ मा तत्कालिन सत्ता गठबन्धनका साझा उम्मेदवारको रुपमा नेपाली काँग्रेसका उम्मेदवार अशोककुमार श्रेष्ठ (निर्वाचित पनि भए) थिए भने प्रदेशसभा २ मा माओवादी केन्द्रका हरिबहादुर चुमान साझा उम्मेदवार (निर्वाचित पनि भए) थिए । त्यसैले सो क्षेत्रमा नेपाली कांग्रेसको खास मत कति हो भन्ने यकिन गर्न यो प्रत्यक्ष तर्फको प्रदेशसभा निर्वाचनको परिणाम पनि उपयुक्त तथ्यांक हुने देखिदैन ।

प्रदेश सभामा दलहरुले समानुपातिकतर्फ पाएको मत पनि अहिलेको निर्वाचनको विश्लेषण गर्न उपयुक्त एक तथ्यांक हो । तर, अहिले चर्चामा रहेको राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशसभा निर्वाचनमा भाग लिएको थिएन । 

तर पनि गत मंसिर ४ मा भएको निर्वाचनमा प्रतिनिधि सभाको लागि निर्वाचन क्षेत्र १ भित्र पर्ने प्रदेशसभा सदस्यमा कांग्रेसले २३ हजार ४४५ मत पाएको थियो । दोस्रोमा रहेको नेकपा एमालेले १८ हजार ९६५ मत पाएको थियो । र, नेकपा माओवादी केन्द्रले ७ हजार ७६९ मत पाएको थियो ।

मंसिर ४ को निर्वाचनमा प्रतिनिधि सभातर्फ दलहरुले समानुपातिमा पनि पाएको मतलाई आधार मान्दा राष्ट्रिय स्वतन्त्र पार्टी सो क्षेत्रमा त्यति कमजोर छैन भन्ने देखाउँछ । सो निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ कांग्रेसले २० हजार १५८ मत, नेकपा एमालेले १६ हजार ६८३ मत र राष्ट्रिय स्वतन्त्र पार्टीले १२ हजार ७७३ मत पाएका थिए । माओवादी केन्द्रले भने ७ हजार ३२६ मत पाएको थियो । 

समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी १२ हजार ७ सयभन्दा बढी मत पाउन सफल भएपनि प्रत्यक्षतर्फ उसको मत कम थियो । तनहु १ बाट प्रतिनिधि सभाको लागि उम्मेदवार बनेका विकास सिग्देलले ६ हजार ४४ मत पाएका थिए । र, स्वतन्त्र उम्मेदवार बनेका नेपाली काँग्रेसका पूर्व नेता गोविन्दराज जोशीले ६ हजार ८८६ मत पाएका थिए । अहिले जोशीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गर्ने सार्वजनिक घोषणा गरेका छन् ।

स्थानीय तह निर्वाचनमा तनहुको सदरमुकाम समेत रहेको व्यास नगरपालिकामा मेयरको लागि कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीका छोरा दिपकराज जोशी पनि उम्मेदवार भएका थिए । दिपकलाई तत्कालिन संसदमा सबैभन्दा ठूलो दल नेकपा एमालेले पनि समर्थन गरेको थियो । स्वतन्त्र उम्मेदवार बनेका दिपकले ११ हजार ८२६ मत पाएका थिए । सो नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार बैकुण्ठनाथ न्यौपाने निर्वाचित भएका थिए । न्यौपानलेले १२ हजार ७८ मत ल्याएका थिए ।

तनहु १ अन्तरगत पर्ने व्यास नगरपालिकामा कांग्रेसकै पूर्व नेता गोविन्दराज जोशीका छोरा स्वतन्त्र उम्मेदवार बनेका र उनलाई नेकपा एमालेले पनि समर्थन गरेको कारण स्थानीय तहका मेयर वा अध्यक्षको मतको आधारमा सो क्षेत्रमा कांग्रेसको मत यकिन गर्न सकिने देखिएन । तनहु १ मा गोविन्दराज जोशीको प्रभाव धेरै हुने भएकोले कांग्रेसको मत खासमा कति हो भनेर यकिन गर्न स्थानीय तह निर्वाचनमा कांग्रेसका वडा अध्यक्षले पाएको मत नै सवैभन्दा उपयुक्त तथ्यांक हुन्छ भन्ने हामीलाई लागेको छ ।  

गत वर्षको बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा वडा अध्यक्षहरुले पाएको मतका आधारमा तनहु १ मा नेपाली कांग्रेसको मत ३३ हजार १०६, नेकपा एमालेको २२ हजार २१० र माओवादी केन्द्रको ८ हजार ४७४ मत रहेको देखिन्छ । तर, मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको भोट घटेको देखिन्छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  १६:०७
प्रतिक्रिया दिनुहोस्