म्यान्मारमा सेनाद्वारा हिंसा : २० बालबालिकासहित १३३ जना मारिए

बिहीबार, चैत ३०, २०७९

नेपिङ– म्यान्मारको सेनाले देशको दोस्रो ठूलो सहर मण्डले नजिकको मध्य सागिङ क्षेत्रमा अवस्थित कानबालु गाउँमा मङ्गलबार गरेको हवाई हमलामा महिला र बालबालिकासहित एक सय ३३ जनाको मृत्यु भएको छ । 

आक्रमणमा २० जना बालबालिकाले ज्यान गुमाएका तथा ५० जनाभन्दा बढी घााइते भएका अपदस्थ राष्ट्रिय एकता सरकारका मानवअधिकारमन्त्री आङ म्यो मिनलाई उद्धृत गर्दै अमेरिकी प्रसारण संस्था केबल न्युज नेटवर्क (सिएनएन)ले जनाएको छ । 

दुई वर्षअघि सैन्य शाक्तिबाट देशको शासन सत्ता कब्जा गरेको सेनाले पहिलोपटक यति घातक एवम् भीषण आक्रमण गरेको हो । अहिले आक्रमणस्थलको आकाश वरपर सैनिक विमान उडिरहेका भए पनि हमला भने गरिउको छैन तर चिकित्साकर्मीलाई उक्त स्थलमा जान दिइएको छैन ।

संयुक्त राष्ट्रसङ्घका मानवाधिकार उच्चायुक्त भोल्कर टर्कले कैयौँ स्कुले बालबालिकाले ज्यान गुमाएको घातक हवाई हमलाबाट आफू आहत भएको बताउँदै दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन आह्वान गरेका छन् । 

सैनिक सरकारको विरोधमा उत्रिएकाहरूसँग हातहतियारसमेत भएकाले उनीहरूका साथै नागरिकलाई पनि लक्ष्य गरेर सेनाले हवाई आक्रमणको रणनीतिलाई व्यापक बनाएको थियो । आन्दोलन दबाउन सेनाले अन्धाधुन्ध आक्रमण गर्दै आएको छ । 

सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएको तत्कालीन बर्माको सैनिकले सोही समयदेखि क्षेत्रीय नियन्त्रणका लागि सशस्त्र जातीय समूहविरुद्ध कारबाही जारी राखेको छ । निर्मम आक्रमणका लागि परिचित म्यान्माली सैनिकको छवि इतिहासदेखि नै धुमिल छ । 

यसैबीच, दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान)ले कानबालुमा भएको हवाई हमलाको निन्दा गरेको छ । आसियानको वर्तमान अध्यक्ष इन्डोनेसियलाले आज एक विज्ञप्ति निकालेर उक्त आक्रमणको निन्दा गरेको हो । आसियानले नागरिकहरूमाथि बल प्रयोग गर्नेलगायत सबै प्रकार हिंसा तत्काल हुनुपर्नेमा जोड दिएको छ । 

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १२:०१
प्रतिक्रिया दिनुहोस्