सहिद स्मारक ‘ए’ डिभिजन लिग : मछिन्द्रको फराकिलो जित, आर्मीद्वारा जावलाखेल पराजित

मंगलबार, चैत २८, २०७९

काठमाडौं–साविक विजेता मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फराकिलो जित निकालेको छ । 
च्यासल मैदानमा मंगलबार मछिन्द्रले एफसी खुमलटारबिरुद्ध ७–३ गोलको फराकिलो जित निकालेको हो । मछिन्द्रको जितमा आफिज ओलावालेले ह्याट्रिकसहित ५ गोल गरे ।  विमल घर्ति मगर र विजय भुजेलले एक/एक गोल गरे ।  
खुमलटारका मेसुके ओलुमोउले दुई तथा स्टेफेन बिनोङले एक गोल फर्काए । मछिन्द्रको यो तेस्रो जित हो । 
मछिन्द्रले ८ खेलमा १२ अंक जोडेको छ । खुमलटारले ८ खेलमा  ७ अंक जोडेको छ ।
त्यस्तै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा जावलाखेल युथ क्लबलाई ३–१ गोल अन्तरले हराउँदै आर्मीले तेस्रो जित निकालेको छ । 
आर्मीको जितमा जिलेस्पी जंग कार्की, नवयुग श्रेष्ठ र सुदिल राईले एक एक गोल गरे । जावलाखेलका सुनिल खड्काले एक गोल फर्काए । 
जितसँगै आर्मीले ८ खेलमा १२ अंक जोडेको छ । जावलाखेलले ८ खेलमा १४ अंक जोडेको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १७:२६
प्रतिक्रिया दिनुहोस्