आज एउटा मुद्दा पर्छ भोलि अर्को, यो त षड्यन्त्र हो भइरहन्छ : सभापति लामिछाने

सोमबार, चैत २०, २०७९

दमौली– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राहदानी विवादमा परेको मुद्दामा कानूनी प्रक्रियालाई सम्मान गरेर अघि बढ्ने बताएका छन् ।

तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा पार्टीका तर्फबाट डा.स्वर्णिम वाग्लेको उम्मेदवारी दर्तापछि आज यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले उक्त कुरा बताएका हुन् । 

मुद्दाको सम्बोधन हुने भएपनि प्रतिशोध र षड्यन्त्रको सम्बोधन गर्न नसकिने सभापति लामिछानेको भनाई थियो । ‘आज एउटा मुद्दा पर्छ, भोलि अर्को पर्छ, यो त षड्यन्त्र हो भइरहन्छ,’ लामिछानेले भने ।

कुनै मान्छेलाई लखेट्ने गरी गरिएको गलत प्रवृत्तिको विरोध गदै लामिछानेले मुद्दा लड्ने एउटा प्रक्रिया भएको र उक्त प्रक्रियामा सहभागी हुने बताए । ‘कानुनी राज्यको प्रक्रियालाई सम्मान गर्दै त्यसमा सहभागी हुन्छ, कानूनी प्रक्रियाबाट भागेको मान्छे होइन,” लामिछानेले भने, ‘म त्यसबाट भागेको कहिले पो छु र ?’

लामिछानेले आग्रह पूर्वाग्रहका बारे अदालतले पनि बुझ्ने बताउँदै यो मुद्दा हो की षड्यन्त्र हो अदालतले बुझ्नुपर्ने बताए ।

लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने महान्यायाधीवक्ताको निर्णयविरुद्ध आजै युवराज पौडेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १९:३९
प्रतिक्रिया दिनुहोस्