Nic Ad Nic Ad
Nic Ad Nic Ad

उम्मेदवारी दर्ता पछि रविले भने–पहिलेभन्दा बढी मत ल्याउँछु

सोमबार, चैत २०, २०७९

काठमाडौं –राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन –२ मा हुने उपनिर्वाचनमा आफूले पहिलेको भन्दा राम्रो मत ल्याउने दाबी गरेका छन् । वैशाख १० हुने उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लामिछानेले निर्वाचनमा राम्रो परिणाम आउनेमा आफू आशावादी रहेको बताएका हुन् । ‘उपनिर्वाचनबाट उत्साहित र आशावादी छु’, उनले भने ।

उनले भने, ‘मलाई केही अनौठो लागेको छ । अस्ति भर्खर यही प्रक्रियाबाट गुज्रेको थिएँ । मान्छेको जीवनमा, राजनीतिक जीवनमा हुने बिरलै घटना हुन् । तर तात्विक रूपमा केही फरक छैन । निर्वाचनका लागि उत्साहित छु । तर मतान्तर कति हुन्छ भनेर भन्न सक्दिनँ । यसका लागि निर्वाचनको अन्तिम परिणाम कुर्नै पर्छ । यद्यपि राम्रो हुन्छ भनेर अपेक्षा गरेको छु । पहिलेको भन्दा पनि राम्रो हुन्छ भन्ने प्रतिक्रिया आइरहेका छन् ।’ देशको समृद्धि, सुशासन र आउँदो पुस्ताको सुन्दर भविष्यका लागि तथा राजनीतिमा शुद्धताका लागि आफूले उम्मेदवारी दिएको उनले बताए ।

गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं. २ मा उपनिर्वाचन हुन लागेको हो । लामिछानेसँगै सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेका रामप्रसाद न्यौपाने, राप्रपाका जीवलाल पुरी, हाम्रो नेपाली पार्टीका शम्भु थापा र नागरिक उन्मुक्ति पार्टीका राजेश अधिकारी लगायतले उम्मेदवारी दर्ता गर्दै छन् ।

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  ११:३०
प्रतिक्रिया दिनुहोस्