मिटरब्याजपीडितलाई प्रधानमन्त्रीले छिटोभन्दा छिटो भेट्नु पर्छ : महामन्त्री शर्मा

बिहीबार, चैत १६, २०७९

काठमाडौं –नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याजपीडितलाई भेट्न ढिलाइ गर्न नहुने बताएका छन् । 

उनले मिटरब्याजपीडितले प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गर्न चाहेको उल्लेख गरे । १३ दिन लगाएर तराईबाट हिँड्दै आएका नागरिकसित अविलम्ब भेट गर्न महामन्त्री शर्माले प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरे ।

भृकुटीमण्डपमा स्वदेशी जुत्ता प्रदर्शनीको अवलोकन गरेपछि बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले प्रधानमन्त्रीले पीडितलाई भेट्नु उनीहरूका मुद्दा सम्बोधनको प्रक्रिया सुरु हुनु रहेको बताए ।

मिटरब्याजपीडितले उठाएका मुद्दाको सम्बोधनका लागि आवश्यक कानुन निर्माण गर्न र संसदमा छिटोभन्दा छिटो कानुनी प्रक्रिया अघि बढाउनुपर्नेमा उनले जोड दिए ।

‘मिटरब्याजपीडितसँग सरकारले दुई/तीनवटा कुरा क्रमशः गर्नुपर्छ । मिटरब्याजीहरूले जो कोही गएर संवाद गर्दा पनि उहाँहरूले प्रधानमन्त्रीसँग भेट्न चाहन्छौँ भन्नुभएको छ । प्रधानमन्त्रीज्यूलाई म के आग्रह गर्छु भने मिटरब्याजपीडितहरूको संघर्षका लागि १३ दिन लगाएर तराईबाट हिँडेर आएका नागरिकलाई, हिजो घरमा पुगेर दुई हात जोडेर मत माग्न सक्थ्यौँ, आज पैदल हिँडेर आएका नागरिकलाई प्रधानमन्त्रीले भेट दिन ढिलो गर्नु हुँदैन । प्रधानमन्त्रीले अविलम्ब भेट दिनुपर्छ । त्यसले उहाँको आन्दोलनमा उठाएको मुद्दाको सम्बोधनको प्रक्रिया प्रारम्भ हुन्छ । दोस्रो, उहाँहरूले उठाएको मुद्दाको सम्बोधन गर्न आवश्यक कानुन बनाउने, संसद्बाट प्रक्रिया अघि बढाउने, तेस्रो कुरा, मिटरब्याजीहरू जुनसुकै राजनीतिक दलको छत्रछायामा हुन्, कांग्रेस, एमाले, माओवादी वा अरू दलका, उनीहरूलाई कुनै पनि झमेलामा नराखी काम गर्नुपर्छ,’ उनले भने ।

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  ११:०९
प्रतिक्रिया दिनुहोस्