दिङ्ला प्रशासन कार्यालय प्रमुखविहीन

बुधबार, चैत १५, २०७९

भोजपुर– भोजपुरको दिङ्लास्थित इलाका प्रशासन कार्यालय प्रमुखविहीन बनेको छ । कार्यालय प्रमुखविहीन हुँदा सेवा प्रवाहमा समस्या भएको छ । मुख्यरूपमा षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिकलाई सेवा दिने उद्देश्यले स्थापना भएको कार्यालय २ महिनदेखि प्रमुखविहीन बनेपछि स्थानीयलाई सास्ती भएको छ । 

जिल्ला सदरमुकामसम्म आउन धेरै समय लाग्ने भएपछि यस भेगमा स्थानीयले नागरिकता, राहदानीलगायत सेवा यही कार्यालयबाट लिँदै आएका थिए । प्रमुख नहुँदा स्थानीय तीन दिनसम्म लगाएर नागरिकता लिनका लागि सदरमुकाम आउन बाध्य छन् । प्रमुख नहुँदा कर्मचारीले तलबसम्म पाउन सकेका छैनन् ।

माघ पहिलो साता शाखा प्रमुख विकेन पौडेल सरुवा भएर गएसँगै कार्यालयको काम ठप्प बनेको हो । सेवा ठप्प भएपछि स्थानीयलाई सास्ती भएको साल्पासिलिछो गाउँपालिका–६ थुम्लुङका विवेक राईले बताए । नागरिकता लिन सदरमुकाम जाँदा समय र पैसा धेरै खर्च हुने उनको भनाइ छ ।

जिल्लाकै दुर्गम क्षेत्रको रूपमा लिइने साल्पासिलिछो गाउँपालिकाका अधिकांश भेगमा सडक पुगेको छैन । इलाका प्रशासनमा प्रमुख नहुँदा २ महिनादेखि तलबसमेत नपाएको कार्यालयका लेखापाल राजेश दाहालले बताए । यहाँ ८ जनाको दरबन्दी छ । अहिले ४ जनाको भरमा कार्यालय सञ्चालनमा छ । इलाका प्रमुख नहुँदा नागरिकलाई सास्ती भएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्र उदासले बताए । यो समस्याका बारेमा सम्बन्धित निकायसँग पहलकदमी गरिरहेको उनको भनाइ छ । 

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १२:५१
प्रतिक्रिया दिनुहोस्