नबिल बैंकको हरितगृह ग्यास उत्सर्जन प्रतिवेदन सार्वजनिक

मंगलबार, चैत १४, २०७९

काठमाडौं –नबिल बैंकले सन् २०२२ को हरितगृह ग्यास उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ । 

बैंकको इन्फ्रास्ट्रक्चर एन्ड प्रोजेक्ट फाइनान्सिङ डिभिजनअन्तर्गत भएको कर्जा तथा लगानी पोर्टफोलियोबाट उक्त प्रतिवेदन सार्वजनिक गरिएको हो । 

नबिल बैंक पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीसीएएफ) को प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नेमध्ये एक हो । 

आईपीएफ पोर्टफोलियोमा ऊर्जा, सिमेन्ट, वायुसेवा, दूरसञ्चार सेवा र अन्य व्यावसायिक क्षेत्रमा भएका विभिन्न लगानी र प्रवाह भएका कर्जा पर्छन् । 

प्रतिवेदनअनुसार सन् २०२२ मा आईपीएफको कार्बन उत्सर्जन ८० हजार ६ सय ७१.३७ टनबराबर भएको पाइएको छ । बैंकले निर्माण, वायुसेवा र इन्टिग्रेटेड टेलिकम्युनिकेसन सर्भिसमा गरेको १० करोड ४० लाख डलर कर्जा तथा लगानीमा उक्त परिमाणको उत्सर्जन देखिएको हो । यी तीनवटा क्षेत्रमा बैंकको डेटा क्वालिटी स्कोर क्रमशः ४, ४ र २ रहेको छ । 

साथै जलविद्युत् र सौर्यऊर्जातर्फको लगानीले २ हजार १ सय ३१.८१ टन कार्बन उत्सर्जन रोक्न सफल भएको प्रतिवेदनमा उल्लेख छ । जसमा बैंकले २ करोड ८० लाख डलर कर्जा तथा लगानी गरेको छ । यी दुईमा बैंकको डेटा क्वालिटी स्कोर क्रमशः ३, ३ रहेको छ । 

‘हाम्रो विविध लगानीलाई दिगो बनाउन र कार्बन घटाउन हामी सक्रिय रुपमा लागिपरेका छौँ’, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले भने । 

उनले बैंक दिगो भविष्य निर्माणमा जुटेको पनि उल्लेख गरे। यसका लागि सबै उत्तिकै सहभागी हुनुपर्नेमा उनको जोड छ । 

‘हामी लक्ष्यप्राप्ति गर्दैगर्दा पारदर्शितामा विश्वास गर्छौँ। शून्य कार्बन उत्सर्जनको दिशामा हुने प्रगतिबारे निरन्तर अपडेट गर्नेछौँ’, उनले भने । 

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १४:२१
प्रतिक्रिया दिनुहोस्