Nic Ad Nic Ad
Nic Ad Nic Ad

कोसी प्रदेशको नाम स्वीकार्न ठूला ४ दलको अपील

आइतबार, चैत १२, २०७९

विराटनगर–ठूला ४ दलले कोसी प्रदेशको नाम स्वीकार गर्न सबैमा अपील गरेको छ ।

प्रदेशको नामका विषयमा असन्तुष्टि जनाउँदै पहिचान पक्षधरले आन्दोलन चर्काएपछि नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाले आइतबार विज्ञप्ति जारी गर्दै नामकरणको निर्णयलाई स्वीकार गर्न आग्रह गरेका हुन् ।

१७ फागुनमा प्रदेशसभाले प्रदेशको नाम ‘कोसी’ राखेपछि पहिचान पक्षधरले आन्दोलन गर्दै आएका छन् । असन्तुष्टिको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बूको शुक्रबार मृत्यु भएको छ । 

‘वृहत सहमतिका साथ प्रदेशको नामकरण गर्न सफल हुनुभएकोमा प्रदेशसभा सदस्यहरुज्यूहरुलाई हार्दिक धन्यवाद तथा बधाइ व्यक्त गर्दै सर्वभौम सम्पन्न प्रदेशसभाको भारी बहुमतबाट भएको प्रदेशको नामकरणको निर्णयलाई शिरोधार्य गर्न आम प्रदेशबासीमा अनुरोध गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

नामकरणका विषयलाई लिएर भइरहेका गतिविधिले सामाजिक सद्भावमा खलल पुग्ने तथा असंवैधानिक गतिविधि तत्काल बन्द गरी शान्तिपूर्ण ढंगबाट आफ्नो मत र मुद्दालाई स्थापित गर्न तथा सम्वाद, वार्ता र छलफलको माध्यमबाट समस्याको समाधान गर्न पनि दलहरुले अपिल गरेका छन् ।

विज्ञप्तिमा नामकरणको विषयमा कुनै असहमति वा फरक मत भए संवैधानिक प्रक्रिया मार्फत समाधान हुने भएकाले वार्तामा बस्न दुवै पक्षलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १६:४२
प्रतिक्रिया दिनुहोस्