बैतडीको हवाई सेवा १ वर्षदेखि बन्द

शनिबार, चैत ११, २०७९

बैतडी–बैतडीको पाटनस्थित विमानस्थलमा हवाई सेवा बन्द भएको १ वर्ष भएको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिकरूपमा हुने गरेको हवाई सेवा गत चैतदेखि बन्द भएको हो । 

साताको १ दिन बिहीबार समिट एयरले उडान भर्दै आएकामा गत वर्ष ११ चैतमा अन्तिमपटक उडान भएको थियो । हवाई भाडा महँगो हुँदा र यात्रु नपाउँदा बन्द हवाई सेवा पुनःसञ्चालन हुन नसकेको समिट एयर बैतडीका प्रतिनिधि कृष्णदत्त भट्टले बताए । उनका अनुसार यात्रु अभावका कारण उडान हुन सकेको छैन ।

यात्रु अभाव हुन थालेपछि उडानका लागि गरिएको सम्झौता रद्द गरिएको भट्टको भनाइ छ । ‘दसैँ, तिहारका बेला मात्रै एकतर्फीरूपमा यात्रु पाइने र त्यसले इन्धन खर्च पनि नउठ्ने भएपछि उडान रद्द गर्न बाध्य भएका हौँ’, उनले भने । भट्टका अनुसार यात्रु पाइन छोडेपछि १ वर्षदेखि उडान बन्द भएपनि सम्झौता नै रद्द गरिएको हो ।

समिट एयर जहाजको १८ यात्रु क्षमता रहेको छ । पाटन–धनगढी हवाई यात्रा १७ मिनेटको छ । १७ मिनेटको हवाई यात्राका लागि ५ हजार रुपैयाँ भाडा तोकिएपछि यात्रु पाइने छोडेका हुन् । सुरुमा हवाई सेवा सञ्चालन हुँदा ३ हजार ८५० रुपैयाँ भाडा तोकिएको थियो । समिट एयरले सम्झौता रद्द गरेपछि अब कहिले उडान हुने भन्ने अनिश्चित भएको छ । लामो समयदेखि बन्द रहँदा यहाँ आकस्मिकरूपमा धनगढी जानुपर्ने नागरिक समस्यामा परेका छन् । हवाई सेवा बन्द हुँदा आकस्मिकरूपमा बिरामी भएकालाई उपचारका लागि बाहिर अस्पातलमा लैजान तथा अन्य कामका लागि जाने नागरिकलाई समस्या भएको स्थानीय चमन भण्डारीको भनाइ छ ।

२०३६ सालदेखि सञ्चालनमा आएको पाटन विमानस्थल २०५१ सालदेखि बन्द भएको थियो । सुदूरपश्चिमकै दोस्रो ठूलो विमानस्थल २६ वर्षपछि पुनः २०७७ सालमा सञ्चालनमा आएको थियोे । १७ असोज २०७७ मा समिट एयरले परीक्षण उडान गरेको थियो । परीक्षण उडानसँगै तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसहितको टोलीले विमानस्थलको निरीक्षणसमेत गरेका थिए । ३१ असोज २०७७ देखि धनगढी–बैतडी–धनगढी साप्ताहिकरूपमा नियमित हवाई सेवा सुरु भएको थियो ।

विमानस्थलमा हवाई सेवा बन्द हुँदा यहाँ बनेका करोडौँका संरचना प्रयोगविहीन बनेका छन् । ग्याल्वा च्यामलिङ्गा जगदम्बा जेभीले ११ करोड रुपैयाँमा विमानस्थल कालोपत्र गरेको थियो  ।  विमानस्थलमा ५९० मिटर लम्बाइ र २० मिटर चौडाइको धावन मार्गका साथै ७० मिटर लम्बाई र ३० मिटर चौडाइको एप्रोन कालोपत्र गरिएको थियो । 

यस्तै विमानस्थलको टर्मिनल भवन निर्धारित समयभित्र निर्माण सम्पन्न भएको छ । इञ्जिनियर कविन्द्र काजी बज्राचार्यका अनुसार टर्मिनल भवनमा सिभिलअन्तर्गतका सबै संरचना पूरा भएका छन् ।  

टर्मिनल भवनमा आगमन कक्ष, प्रस्थान कक्ष, टिकट काउन्टर, रेडियो कक्ष, एटिसी रुम, एयर ट्राफिक कन्टोल रूम निर्माण गरिएका जनाइएको छ । यसका साथै रनवेसम्म जाने बाटो, रनवे साइडको नाला, विमानस्थल सुरक्षा गार्ड भवन पनि निर्माण सम्पन्न भएको इञ्जिनियर बज्राचार्यको भनाइ छ । 
 

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १७:३३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार