कोसी प्रदेश नामकरण विवाद :

चैत ५ को घटनाबारे छानबिन गर्न समिति गठन गरिने

शनिबार, चैत ११, २०७९

काठमाडौँ– कोसी प्रदेश नामकरण विवादपछि गत चैत ५ गते भएको घटनाको छानबिन गर्न सरकारले समिति गठन गर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आव्हानमा छलफल भएको बताइएको छ ।

छलफलमा कोसी प्रदेश नामकरणमा देखिएको विवादपछिको घटनाक्रमप्रति सरकार गम्भीर रहेको प्रधानमन्त्री प्रचण्डले बताएको उनको सचिवालयले जनाएको ।

गत चैत ५ गते भएको घटनाका सम्बन्धमा गृह मन्त्रालयले समिति गठन गरी तत्काल छानविन अघि बढाउने सञ्चार तथा सूचना मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । 

समग्र घटनाका सम्बन्धमा छलफल गर्न सरकारले सरोकारवाला पक्षलाई संवादका लागि पनि आव्हान गरेको छ ।

कोसी प्रदेश नामकरणको विरोधको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बू लाजेहाङको उपचारका क्रममा शुक्रबार निधन भएको थियो ।

गत चैत ५ गते विराटनगरमा भएको आन्दोलनमा घाइते भएका लाजेहाङको गएराति धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो ।

विराटनगरस्थित निषेधित क्षेत्र तोडी मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गर्न जानेक्रममा सशस्त्र प्रहरीको लाठी प्रहारबाट उनी घाइते भएका थिए ।

यही घटनाबारे सरकारले छानबिन गर्न समिति बनाउने भएको हो । 
 

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १०:३२
प्रतिक्रिया दिनुहोस्