धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव सुरु

शुक्रबार, चैत १०, २०७९

कैलाली–धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव सुरु भएको छ । महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार उद्घाटन गरे ।

आगामी १३ गतेसम्म सम्मेलन सञ्चालन हुने महोत्सवमा भारत, अमेरिका, भुटान, म्यानमारलगायतका देशहरूबाट गरी दुई सय बढी नेपाली साहित्य स्रष्टाहरु सहभागी छन् ।

तेस्रो पटक सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजना गरिएको हो । यसअघि साहित्य समाजले २०७६ सालमा सात दिन सञ्चालन भएको विश्व नेपाली साहित्य महोत्सव आयोजना गरिसकेको थियो । 

त्यस्तै गत वर्ष नेपाली साहित्य महोत्सव आयोजना भएको थियो । आयोजक साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले साहित्यिक स्रष्टाहरूको महोत्सवमा आफ्नो प्रस्तुती राख्ने बताए ।

महोत्सवमा चार दिनसम्म विभिन्न २४ वटा शीर्षकमा साहित्य संवाद सत्र सञ्चालन हुनेछन् । 

महोत्सवमा विलक्षण साहित्यिक व्यक्तित्व झमक घिमिरे, अद्भूत प्रतिभा बालिका प्रेन्सा रेग्मी, साहित्यकार सनत रेग्मी, नवराज लम्साललगायत दर्जन बढी व्यक्तित्वहरु सम्मानित भएका छन् । साहित्य समाजद्वारा स्थापना गरिएको रु एक लाख ११ हजार राशिको बद्रि–कृष्णा वाङ्गमय पुरस्कार विलक्षण साहित्यिक प्रतिभा झमक घिमिरेलाई प्रदान गरिने भएको हो ।

महोत्सवमा साङ्गीतिक साँझ तथा सुदूरपश्चिम प्रदेशका विभिन्न समुदायका मौलिक संस्कृति गमरा, छलिया, भुवो, हुड्केली, महिला छलिया र पुतला खेल, सखिया नृत्य, ठाडीभाका गायन, रानाथारुको होली र डगौरा थारुको लठौवा नाच प्रस्तुत गरिने छ ।

कार्यक्रममा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले साहित्यिक महोत्सवले सुदूरपश्चिमको संस्कृतिलाई उजागर गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

महोत्सवको संयोजकको भूमिका निर्वाह गरिरहेका संस्कृतिविद् यज्ञराज उपाध्यायले साहित्य महोत्सवले नेपाली भाषा, साहित्यको उद्गमस्थल देवभूमि सुदूरपश्चिमसँग स्वदेश तथा विदेशका मूर्धन्य साहित्यिक स्रष्टाहरूले साक्षत्कार गर्ने अवसर प्राप्त गरेको बताए ।

महोत्सवले नेपाली भाषा, साहित्य र सभ्यताकै जननी स्थलका रुपमा रहेको काली–कर्णाली क्षेत्रको गौरवगाथा तथा प्रदेशको कला, संस्कृति, प्रकृति, पर्यटन, इतिहास, सम्पदा, दर्शन, साहित्य, उद्योग, व्यापार र समग्र सामाजिक विकासका पक्षलाई उजागर गर्न योगदान पु¥याउने विश्वास गरेको छ । 

सुदूरपश्चिम प्रदेशबाट उद्गम भएको नेपाली भाषा, संस्कृति, सभ्यता र पहिचानलाई बोकेर संसारका विभिन्न देशमा पुगेका नेपाली भाषी वीर जातिले आफ्नो भाषा, संस्कृति र पहिचानलाई विश्व रङ्गमञ्चमा छुट्टै पहिचान दिलाएको सहभागी साहित्यकारको जोड छ ।

संसारभरीका नेपाली भाषीहरूलाई जोड्न र नेपाली भाषा–साहित्यको श्रीवृद्धिमा जुटेका संसारभरीका नेपालीभाषी साधकहरूले एकै मञ्चमा आराधना गर्न विश्व साहित्य महोत्सव आयोजना गरिएको जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  २१:११
प्रतिक्रिया दिनुहोस्