पर्वतको गुप्तेश्वर क्याम्पसमा नेविसंघ र क्रान्तिकारीको संयुक्त प्यानल विजयी

आइतबार, चैत ५, २०७९

पर्वत— गुप्तेश्वर बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ र अनेरास्ववियु क्रान्तिकारीको संयुक्त प्यानल विजयी भएको छ । 

मुख्य निर्वाचन अधिकृत ओमकार गिरीका अनुसार आज भएको निर्वाचनमा  नेविसंघका तर्फबाट अध्यक्षका उम्मेदवार सतिश रेग्मीले १३१ मत ल्याएर  विजयी भएका हुन् । उनका प्रतिस्पर्धी अनेरास्ववियुकी जोश्ना कुँवरले ५३ मत ल्याइन् ।

२१२ मतदाता रहेकोमा १८५ मत खसेको थियो भने एक मत बदर भएको मुख्य निर्वाचन अधिकृत गिरीले जानकारी दिए ।

त्यस्तै, अन्य पदाधिकारीतर्फ सचिवमा नेविसंघका लक्ष्मण रेग्मी ११४ मत ल्याएर विजयी भएका छन् । कोषाध्यक्षमा अखिल क्रान्तिकारीकी पवित्रा नेपालीले ११९ मत ल्याएर विजयी भएकी छन् । सदस्यहरुमा नेविसंघकी पुजाकुमारी पोख्रेल, अखिल क्रान्तिकारीकी मनिषा परियार र अखिल क्रान्तिकारीकै सबिना क्षेत्री विजयी भएका छन् । 

निर्वाचनमा समानुपातिकतर्फ संयुक्त प्यानलले १२९ र अनेरास्ववियुले ५५ मत ल्याएका छन् । बिहान साढे ७ बजेदेखि सुरु भएको निर्वाचन दिउँसो १ बजे सकिएको थियो । मतपरिणाम भने साँझ करिब साढे ५ बजे सार्वजनिक भएको हो ।

पर्वतमा त्रिविबाट सम्बन्धनप्राप्त भएका १२ क्याम्पसहरुमध्ये गुप्तेश्वर क्याम्पसमा मात्रै स्ववियु निर्वाचन भएको हो ।

प्रतिक्रिया दिनुहोस्