विराटनगरमा तनाव : अश्रुग्यास प्रहार, २ प्रहरी घाइते

आइतबार, चैत ५, २०७९

विराटनगर–कोसी प्रदेश नाम खारेज गर्नुपर्ने मागसहित आइतबार विराटनगरमा गरिएको प्रदर्शन तनावग्रस्त बनेको छ  । प्रदर्शनका क्रममा प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनमा दुई जना प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएको मोरङ प्रहरी प्रमुख दिपक पोखरेलले जानकारी दिएका छन् ।

प्रदर्शनकारीले निषेधित क्षेत्र उल्लंघन गर्दै प्रदर्शन गरेका छन् । आक्रोशित प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालयअगाडि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पुतला दहन गरेका छन् ।

पुनः नामकरण संयुक्त संघर्ष समितिको आयोजनामा महेन्द्रचोकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयछेउ रोडशेषमा प्रदर्शनकारी पुगेपछि प्रहरीले बल प्रयोग गरेको थियो । निषेधाज्ञा उल्लंघन गरिएपछि अश्रुग्यास प्रहार गरिएको हो । प्रहरीले केही राउन्ड हवाईफायर समेत गरेको प्रदर्शनमा सहभागीको जिकिर छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अशोक चेम्जोङले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको बताए ।

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १७:४५
प्रतिक्रिया दिनुहोस्