बर्दिवासमा जग्गा वर्गीकरण सम्पन्न

शनिबार, फागुन २७, २०७९

बर्दिवास–महोत्तरीको बर्दिवास नगरपालिकामा जग्गाको कित्ताकाट खुल्ने भएको छ । जग्गाको कित्ताकाट खुलाउन गरिने जग्गा वर्गीकरणको काम सम्पन्न भएको बर्दिवास नगरपालिकाका मेयर प्रह्लादकुमार क्षेत्रीले जानकारी दिए ।

जग्गा वर्गीकरणको काम सकिएसँगै बर्दिवास नगरपालिकाभित्र जग्गाको कित्ताकाट खुलाउने तयारी अन्तिम चरणमा पुगेको नगरप्रमुख क्षेत्रीले बताए । 

उनका अनुसार नगरपालिकाको ११ लाख ६४ हजार रुपैयाँमासेवा प्रदायक कम्पनी स्मार्ट सिटी विल्डर्सले जग्गाको वर्गीकरण गरेको हो ।

कम्पनीले हस्तान्तरण गरेको जग्गा वर्गीकरण प्रतिवेदनलाई शुक्रबार बसेको नगरपालिकाको कार्यपालिका बैठकले अनुमोदन गरेको छ । 

कार्यपालिकाको निर्णयसहित आइतबार राजपत्रांकितमा प्रकाशित गरेर केन्द्रीय नापी कार्यालयमा पठाउने तयारी रहेको नगरप्रमुख क्षेत्रीले बताए । 

जग्गा वर्गीकरण गरी कित्ताकाट प्रक्रियामा बर्दिवास नगरपालिका मधेश प्रदेशकै पहिलो पालिका बनेको नगरप्रमुख क्षेत्रीको दाबी छ । 

२७ जेठमा भू–उपयोग ऐन २०७६ र भू–उपयोग नियामवली २०७९ ले व्यवस्था गरे अनुसार नेपाल सरकारको मन्त्रिपरिषदले निर्णय गरी नगरक्षेत्र भित्रको भूमिको भू–उपयोग वर्गीकरण गर्नका लागि पत्राचार गरेको थियो । 

प्रक्रिया पूरा हुना साथ तुरुन्त कित्ताकाट गरेर बैंक कर्जा तथा जग्गा किनबेच गर्न सक्ने उनको भनाइ छ । लामो समयदेखि जग्गा वर्गीकरणकै अभावमा कित्ताकाट रोकिएको बेला बर्दिवास नगरपालिकाले जग्गालाई विभिन्न १० क्षेत्रमा वर्गीकरण गरेको छ । 

व्यवसायिक क्षेत्र, आवासीय क्षेत्र, कृषि क्षेत्र, सार्वजनिक उपयोगको क्षेत्र, कला संस्कृति तथा पुरातात्विक क्षेत्र, औधोगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदी, खोला, ताल तथा सिमसार क्षेत्र र नेपाल सरकारबाट तोकिएको अन्य क्षेत्र गरी नगरभरीको जग्गालाई १० भागमा विभाजन गरिएको हो ।

जग्गा वर्गीकरण वैज्ञानिक ढंगबाट गरिएकाले कित्ताकाटमा कुनै समस्या नआउने सेवा प्रदायक कम्पनी विल्डर्सको दाबी छ ।

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  ११:५२
प्रतिक्रिया दिनुहोस्