गौतमबुद्ध विमानस्थलबाट पुनः नियमित अन्तर्राष्ट्रिय उडान सुरु

बिहीबार, फागुन २५, २०७९

काठमाडौँ– देशको दोस्रो ठुलो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट आजदेखि पुनः नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । 

उक्त विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको कुवेतको जजिरा एयरवेजले गएको पुस ६ गतेदेखि खराब मौसमका कारण भन्दै उडान स्थगित गरेको थियो ।

कुवेतबाट आज बिहान ६६ जना यात्रु लिएर ७ बजेर १५ मिनेटमा अवतरण गरेको जजिरा एयरको विमानले आजै बिहान त्यहाँबाट ८ बजेर १५ मिनेटमा ९९  यात्रु लिएर उडेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । 
    
उनका अनुसार अब आकाश खुल्न थालेकाले भैरहवा उडान सहज भएको र जजिराले अब हप्तामा तीन दिन मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्नेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा सञ्चालन गरिएको भैरहवाको गौतमबुद्ध विमानस्थलमा दैनिक ३० देखि ४० वटासम्म उडान गर्न सकिने क्षमता रहेको क्यानले जनाइएको छ । -रासस
 

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १२:३६
प्रतिक्रिया दिनुहोस्