मन्त्री फेरिएपिच्छे अनुगमन

९ वर्षमा पनि किन बनेन कमलविनायक–नगरकोट सडक ?

बिहीबार, फागुन १८, २०७९

काठमाडौँ– ‘कालोसूचीमा राख्नुपर्नेलाई तपाईँहरू पटक–पटक किन म्याद थप्नुहुन्छ ? कालो सूचीमा हुनुपर्छ यो ठेकेदार त । जुत्ताको माला लगाइनुपर्छ, मोसो दलिनुपर्छ यसलाई, कुरा बुझ्नुभयो ?’

कमलविनायक–नगरकोट सडकको अनुगमनमा पुगेका पूर्वाधारमन्त्रीसमक्ष बास्तोला गाउँका जगत बास्तोलाले निकै आक्रोशित मुद्रामा प्रश्न तेर्स्याए । 

ती स्थानीयले मन्त्रीकै अगाडि आफ्नो समस्या सुनाउँदै भने, ‘सबै पिच उप्केको छ, माटोमा पिच गरिएको छ । ठेकेदारले तपाईंलाई गुमराहमा राखेको छ, श्रीमान् मन्त्रीज्यू ! एक दिन हो र ? सधैँ हामी सुत्न पाएका छैनौँ ।’ 

मन्त्रीपिच्छे नै सडकको अनुगमन हुँदा पनि सडक बन्न नसक्नुमा सरकार निरीह देखिएको अर्का स्थानीयको गुनासो थियो ।

nagarkot road (6)1677755481.jpg

‘अहिलेसम्म जति मन्त्री भएर अनुगमनमा आए, आश्वासन दिएर गए । तर, यो सडक कहिल्यै बनेन । उल्टै हामीले दैनिक धुवाँ, धुलो र बर्खायाममा बाढी र हिलोको सास्ती खेप्नुपरेको छ,’ उनले गुनासो गरे ।

स्थानीयका आक्रोशसहितका कुण्ठा र समस्या सुनेका मन्त्रीले १ महिनाभित्र कालोपत्र (पिच) हुने र स्थानीयका माग पूरा गर्ने आश्वासन दिए ।

तर, मन्त्रीलाई भेटेर आफ्ना समस्या राख्न उपस्थित भएका स्थानीयले यस्ता आश्वासन यसअघि धेरै जना मन्त्री आएर दिने गरेको भन्दै उल्टै मन्त्रीसँग भनाभन गरे ।

त्यसपछि मन्त्री श्रेष्ठले पनि झोँक्किदै भने, ‘बटन दबाएर हुन्छ र ? नगर्ने त अब ? नगर्ने ? गर्नपर्‍यो नि काम पहिला !’ 

उनले सडक निर्माणमा उपेक्षा र हेलचेक्रयाइँ भएको स्वीकार्दै अब अन्तिम पटक काम गर्ने प्रयास गर्ने, अन्यथा कम्पनीलाई कालो सूचीमै राख्ने बताएपछि स्थानीयको आक्रोशित भिड केही सामान्य बन्यो ।

nagarkot road (7)1677755481.jpg

तर, मन्त्रीको कुरा स्थानीयले पूरै पत्याइरहेका थिएनन् ।

यसअघि मन्त्री श्रेष्ठले निर्माणको ठेक्का पाएको ठेकेदार शैलुङ कन्ट्रक्सनलाई मन्त्रालयमा बोलाएर फागुन मसान्तसम्म काम सक्न निर्देशन दिएका थिए । सोअनुसार दिइएको समयभित्र काम के–कस्तो भइरहेको छ भनेर अनुगमनमा पुगेका मन्त्री र सचिवसहितलाई स्थानीयले विभिन्न समस्या सुनाए ।

त्यहाँका स्थानीयको सबैभन्दा बढी आक्रोश ठेकेदार कम्पनी शैलुङ र शैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदाप्रसाद अधिकारीप्रति थियो ।

nagarkot road (4)1677755480.jpg

स्थानीयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका घरबेटी ठेकेदार भएका कारण सडक निर्माण अलपत्र परेको दुःखेसो गरे भने कतिपयले राजनीतिक रूपमै ठेकेदारलाई संरक्षण गरिएको सुनाए । 

यसअघिकी पूर्वाधार मन्त्री रेणु यादव पनि सोही सडक अनुगमनमा पुग्दा मन्त्री सवार गाडी रोकेर स्थानीयले आफ्ना समस्यासहितको आक्रोश व्यक्त नगरेका होइनन् । तर, कुनै टेरपुच्छर लागेन ।

nagarkot road (3)1677755480.jpg

सडक दुर्दशा वर्षौंदेखि त्यहाँका स्थानीयको नियति बन्यो । तर, ठेकेदार कम्पनीले पटक–पटक म्याद थप गर्दै गयो, सडक अधुरै बनायो, छाड्यो ।

भक्तपुरको कमलविनायकबाट नगरकोटसम्म पुग्ने १६ किलोमिटर सडक विस्तारको ठेक्का शैलुङले २०७१ जेठ २९ गते पाएको थियो ।

३ वर्षमा सम्पन्न गर्ने गरी सम्झौता भएको उक्त सडक ९ वर्षमा पनि बन्न सकेको छैन । राजनीतिक संरक्षण पाएर २०औँ पटक म्याद थप गर्दा पनि शैलुङले सो सडक अलपत्र पारेको छ ।

सडक निर्माणमा देखिएको ढिलाइ र चरम लापरबाही भएको भन्दै यसअघि त्यहाँका स्थानीयले ठेकेदार कम्पनीका मालिक शारदाप्रसाद अधिकारीको फोटोमा बाँदर र कुकुरको तस्बिर राखेर पोल र सवारीसाधनमा टाँसेर विरोध जनाए ।

nagarkot road (2)1677755480.jpg

स्थानीयले कहिले ठेकेदारका विरुद्ध आन्दोलन त कहिले पुतला दहनसमेत गरे । तर, हात लाग्यो शून्य । सडक अधुरै रह्यो, स्थानीयको दैनिक दुःख र सास्ती ज्यूका त्यूँ छन् ।

भारतीय एक्जिम बैंक अफ इन्डियाले ऋण दिएका कारण ५० प्रतिशत भारतीय सामान हुनुपर्ने र निर्माणको ५१ प्रतिशत हिस्सा भारतीय नै हुनुपर्ने शर्त छ । तर, निर्माण कम्पनी शैलुङकै चरम लापरबाहीले नगरकोट पुग्ने सडक अलपत्र बनेको छ ।

हालसम्म ७० प्रतिशत मात्र निर्माण सम्पन्न भएको आयोजना प्रमुख जगत प्रजापतिले सिएन नेपाललाई जानकारी दिए ।

कालोपत्रको काम अझै सुरु हुन सकेको छैन । ठाउँ–ठाउँमा सडक सम्याउने र चक्ल्याउने काम पनि अधुरै छ ।

कुल ३१ करोड ५६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको आयोजनामा हालसम्म निर्माण कम्पनीले १५ करोडभन्दा बढी रकम लिइसकेको आयोजनाले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १६:५३
प्रतिक्रिया दिनुहोस्