गैरआवासीय नेपाली, नागरिकता र अधिकार

मंगलबार, फागुन १६, २०७९

व्यवसाय, अध्ययन तथा रोजगारीको सिलसिलामा नेपालबाहिर रहने गैरआवासीय नेपालीको संख्या नेपालको कुल जनसंख्याको करिब एक चौथाइ आसपास पुगेको अनुमान गर्न सकिन्छ ।

जसमध्ये युरोप, अमेरिका, अस्ट्रेलिया, जापानलगायत विकसित देशमा रहेका नेपालीले ती देशको स्थायी आवासीय सुविधाका साथै ती देशहरूको नागरिकको हैसियतले उक्त देशको पासपोर्ट समेत लिइसकेका छन् भने कति लिने तयारीमा छन् । 

नेपालको मौजुदा कानुनी प्रावधानबमोजिम दोहोरो नागरिकता कायम रहने अवस्था विद्यमान छैन । यस्तो अवस्थामा विदेशी मुलुकको नागरिकता लिएको व्यक्ति नेपाली नागरिक नरहने अवस्थामा त्यस्तो व्यक्तिको नेपालमा कानुनी हैसियत के रहने भन्ने आमचासोको विषय बनेको छ । 

गैरआवासीय नेपाली नागरिक, जसले विदेशी नागरिकता धारण गरिसकेको छैन, त्यस्तो व्यक्तिको हकमा नेपालमा निजको कानुनी अधिकारमा कुनै फरक पर्दैन । उसले नेपालको कानुनअनुसार पूर्ण रूपमा नागरिक अधिकार प्राप्त गर्छ र विदेशमा रहेको अवस्थामा समेत नेपाली नागरिकको हैसियतले कुटनीतिक अधिकारसमेत प्राप्त हुन्छ ।

तर, नेपालको नागरिकता त्यागेर विदेशी मुलुकको नागरिकता लिएको व्यक्तिको हकमा भने उसको नेपाली नागरिक अधिकार संकुचित हुन्छ । त्यस्तो व्यक्तिले प्राकृतिक व्यक्तिको नैसर्गिक अधिकारका साथै नेपालले व्यवस्था गरेको गैरआवासीय नेपालीको कानुनी अधिकार प्राप्त गर्छ । 

गैरआवासीय नेपालीसम्बन्धी कानुनी व्यवस्थाः

नागरिकतासम्बन्धी व्यवस्था

संवैधानिक व्यवस्थाः नेपालको संविधान २०७२ को धारा १४ ले गैरआवासीय नेपाली नागरिकका लागि ‘गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न सकिने’ भन्ने विशेष व्यवस्था गरिएको छ । तर, नागरिकतासम्बन्धी ऐनमा सो व्यवस्था नभएका कारण कार्यान्वयनमा आउन सकेको छैन । 

संविधानको धारा ११ ले संविधान प्रारम्भ हुँदाका बखत नेपालको नागरिकता प्राप्त गरेका र संविधानबमोजिम नागरिकता प्राप्त गर्न योग्य व्यक्तिहरू नेपालको नागरिक हुनेछन् भन्ने व्यवस्था गरेको छ ।

धारा १३ ले नागरिकताको प्राप्ति, पुनर्प्राप्ति र समाप्तिसम्बन्धी अन्य व्यवस्था संघीय कानुनबमोजिम हुनेछ भन्ने व्यवस्था गरेको छ ।

नेपाल नागरिकता ऐन–२०६३ ले संविधानको धारा १४ बमोजिमको गैरआवासीय नेपाली नागरिकको नागरिकता सम्बन्धमा कुनै व्यवस्था गरेको पाइँदैन भने पहिलो संशोधन अध्यादेश–२०७८ समेत तत् सम्बन्धमा मौन देखिन्छ ।

संविधानले गैरआवासीय नेपाली नागरिकलाई समेत नागरिकको परिभाषाअन्तर्गत राखिएबाट निजहरूले समेत नागरिक अधिकार प्राप्त गर्ने संवैधानिक व्यवस्था देखिन्छ ।

ऐनको दफा १० (१) मा कुनै पनि नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम नरहने व्यवस्था गरेको छ । जसबाट विदेशी मुलुकको नागरिकता प्राप्त गर्नका लागि प्रक्रिया चालेकै आधारमा नागरिकको हैसियतले कानुनी अधिकार प्राप्तिमा कुनै समस्या रहँदैन ।

दफा ११ (१) मा विदेशी मुलुकको नागरिकता लिएको नागरिकले नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा सोही मितिबाट नेपाली नागरिकता पुनः कायम हुने व्यवस्था छ । यसरी गैरआवासीय नेपाली नागरिकले विदेशी नागरिकता त्यागेको अवस्थामा पुरानै नागरिकता कायम हुने कानुनी व्यवस्था देखिन्छ ।

संविधानले गैरआवासीय नेपाली नागरिकलाई समेत नागरिकको परिभाषाअन्तर्गत राखिएबाट निजहरूले समेत नागरिक अधिकार प्राप्त गर्ने संवैधानिक व्यवस्था देखिन्छ । तर, कानुन अभावका कारण निजले कस्ता–कस्ता नागरिक अधिकार प्राप्त गर्ने भन्ने विषय अझै निर्क्याेल भएको छैन ।

मौलिक हकअन्तर्गत धारा २५ को व्यवस्थाबमोजिम प्रत्येक नागरिकलाई कानुनको अधीनमा रही सम्पत्ति (चलअचल) आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने हकलाई सुरक्षित गरेको छ ।

धारा १८ मा समानताको हकअन्तर्गत उपधारा १ मा सबै नागरिक कानुनको दृष्टिमा समान हुन्छन्, कसैलाई पनि कानुनको समान संरक्षणबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था छ ।

त्यस्तै उपधारा ३ मा राज्यले नागरिकका बीच उत्पत्तिका आधारमा भेदभाव गर्ने छैन भन्ने व्यवस्था भएबाट गैरआवासीय नेपाली नागरिक नेपालको नागरिकको परिभाषाअन्तर्गत पर्ने र मौलिक हकले समान व्यवहार गर्ने भन्ने व्यवस्था भएको बुझ्नुपर्छ । तसर्थ गैरआवासीय नेपालीलाई समेत कानुनबमोजिमको नागरिक अधिकार प्राप्त गर्नबाट वञ्चित गर्न मिल्ने देखिँदैन ।

मुलुकी देवानी संहिता २०७४ को दफा ३० ले प्रत्येक व्यक्तिले जन्मनासाथ व्यक्तिको रूपमा मान्यता पाउने र कानुनबमोजिमको अधिकार जीवित रहेसम्म उपभोग गर्न सक्ने कानुनी व्यवस्था गरेको छ ।

दफा २०५ ले सगोलको सम्पत्ति अंशबन्डा गर्ने प्रयोजनका लागि पति, पत्नी, बाबु, आमा, छोरा, छोरी अंशियार मानिने व्यवस्था गरेको छ भने दफा २०६ ले प्रत्येक अंशियारलाई अंशको समान हक हुनेछ भन्ने व्यवस्था भएबाट नेपालमा गैरआवासीय नेपालीले अंश हक प्राप्त गर्नका लागि नेपाली नागरिक हुनुपर्ने बाध्यात्मक व्यवस्था गरेको छैन । 

दफा २६६ को व्यवस्थाबमोजिम व्यक्तिलाई कानुनबमोजिम कुनै पनि सम्पत्तिको हक प्राप्त हुन्छ भने त्यस्तो सम्पत्तिमा निजको स्वामित्व रहने, दफा २६७ बमोजिमका अधिकार निज व्यक्तिमा रहने कानुनी व्यवस्था छ । 

दफा ४३३ ले विदेशी नागरिकलाई अंशहक वा अपुताली प्राप्त भएमा नेपाल सरकारको स्वीकृति भएमा बाहेक निजले आफ्नो नाममा नामसारी, दर्ता हुन वा सो सम्पत्तिको आम्दानी निजले उपभोग गर्नबाट वञ्चित गरेको भए पनि गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिको हकमा उक्त व्यवस्था लागू नहुने व्यवस्था भएबाट निजले उक्त अधिकार प्राप्त गर्ने देखिन्छ । 

उपदफा २ ले दर्ता, नामसारी र भोगमा बन्देज लगाएको भए पनि बिक्री वा अन्य तवरबाट स्वामित्व हस्तान्तरण गर्नुपर्ने व्यवस्था गरेबाट विदेशी नागरिकलाई समेत सीमित सम्पत्तिको अधिकार प्रदान गरेको छ ।

उपदफा ३ बमोजिम अंशको हकमा स्वामित्व हस्तान्तरण गर्नका लागि कुनै हदम्याद तोकिएको छैन भने अपुतालीको हकमा अपुताली परेको मितिले ३ वर्षभित्र नेपाली नागरिकलाई हस्तान्तरण गर्नुपर्नेछ भन्ने व्यवस्था गरिएको छ । जसको प्रयोजनका लागि हक हस्तान्तरण गर्ने दिनका लागि मान्य हुने गरी अस्थायी जग्गाधनी पुर्जासमेत प्राप्त गर्न सकिने व्यवस्था छ ।

गैरआवासीय नेपालीसम्बन्धी ऐन–२०७४

यस ऐनले विदेशमा (सार्क राष्ट्रबाहेक) बस्ने नेपाली मूलको विदेशी नागरिक तथा निश्चित अवधिसम्म विदेशमा बसेका नेपाली नागरिकलाई समेत गैरआवासीय नेपालीको परिभाषामा समेटेको छ ।

ऐनको दफा ७ बमोजिम निजले र गैरआवासीय नेपालीको ५० प्रतिशतभन्दा बढी स्वामित्व रहेको कम्पनीमार्फत कानुनबमोजिम विदेशी लगानीका लागि खुला गरिएको उद्योग वा व्यवसायमा परिवर्त्य विदेशी मुद्रामा लगानी गर्न सक्ने व्यवस्था गरेको छ । 

दफा १३ मा नेपाली मूलको विदेशी नागरिकले नेपाली नागरिकसरह नेपालमा उद्योग वा व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ ।

दफा ९ ले दफा ७ बमोजिमको लगानी र त्यसबाट प्राप्त भएको लाभ बराबरको रकम निजले परिवर्त्य विदेशी मुद्रामा तोकिएबमोजिम फिर्तासमेत लैजान सक्ने व्यवस्था गरेको छ ।

त्यस्तै, दफा १३ मा नेपाली मूलको विदेशी नागरिकले नेपाली नागरिकसरह नेपालमा उद्योग वा व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ ।

दफा १४ ले नेपाली मूलको विदेशी नागरिकले प्रचलित कानुनबमोजिम कुनै विदेशी नागरिकले परिवर्त्य विदेशी मुद्रामा नेपालमा लगानी गरेबापत पाउने सुविधासरहको सुविधासमेत पाउने व्यवस्था गरेबाट गैरआवासीय नेपाली नागरिकका हकमा दफा ७ बमोजिमको लगानीमा लगानी र लगानीको प्रतिफल विदेशी मुद्रामा फिर्ता लैजान सक्ने देखिन्छ भने नेपाली मूलको विदेशी नागरिकको हकमा अन्य कानुनसरह थप सुविधासमेत प्राप्त हुने देखिन्छ । 

दफा १० को व्यवस्थाबमोजिम नेपाली मूलका विदेशी नागरिकलाई विशेष सुविधा तथा सहुलियतको व्यवस्था गरेको पाइन्छ । उपदफा १ मा नेपालमा बसोबास गर्नका लागि आफ्नो वा आफ्नो परिवारका लागि तोकिएको शर्तको अधीनमा रही तोकिएको क्षेत्रफलको जग्गा वा अन्य सम्पत्ति खरिद गर्न सक्ने कानुनी सुविधा दिएको छ । 

उपदफा २ मा उपदफा १ बमोजिम खरिद गरिएको सम्पत्ति प्रचलित कानुनको अधीनमा रही निजले बिक्रीसमेत गर्न सक्ने व्यवस्था छ । नेपाली मूलको विदेशी नागरिकको मृत्यु भई अपुताली परेमा नेपालमा रहेको सम्पत्ति निजको हकवाला गैरआवासीय नेपालीको परिचयपत्र प्राप्त नेपाली मूलको विदेशी नागरिकले समेत प्राप्त गर्न सक्ने कानुनी व्यवस्था छ ।

गैरआवासीय नेपालीसम्बन्धी नियमावली–२०६६ को नियम ११ (१) बमोजिम नेपाली मूलको विदेशी नागरिकले काठमाडौँ उपत्यकाभित्र २ रोपनी, तराईका जिल्लाका नगरपालिकाभित्र ८ कट्ठा, अन्य जिल्लाका नगरपालिकाभित्र ४ रोपनी, तराई जिल्लाका गाउँ विकास समिति क्षेत्रभित्र १ बिगाह वा अन्य क्षेत्रमा १० रोपनीसम्म जग्गा खरिद गर्न सक्ने व्यवस्था छ ।

उपनियम २ ले यदि त्यस्तो व्यक्तिले नेपालको नागरिकको हैसियतले नेपालमा कुनै अचल सम्पत्ति प्राप्त गरेको भए उपनियम १ बमोजिमको सुविधा प्राप्त गर्न सक्दैन भन्ने व्यवस्था गरेको छ । उपनियम १ बमोजिमको सुविधा प्राप्त गर्नका लागि पूर्वस्वीकृति भने लिनुपर्ने हुन्छ ।

उपनियम ७ ले यस ऐनबमोजिम अचल सम्पत्ति खरिद गरेकै आधारमा र नियमावलीले प्रदान गरेको हकबाहेकको अन्य कुनै हक अधिकार प्राप्तिका लागि भने बन्देज गरेको छ । 

यसरी हेर्दा नेपाली नागरिकता प्राप्त गरिसकेको र विदेशी मुलुकको नागरिकता लिएको व्यक्तिले नेपालमै बसी विदेशी नागरिकता त्यागेको निस्सा पेस गरेको अवस्थामा निजले पुरानै नागरिकता पुनः प्राप्त गर्न सक्ने कानुनी व्यवस्था देखिन्छ । 

त्यस्तो व्यक्तिले विदेशी नागरिक भएकै आधारमा निजको अंश हक तथा अपुताली प्राप्त गर्नेसम्बन्धी अधिकारलाई समेत बन्देज गर्दैन भने गैरआवासीय नेपालीसम्बन्धी नियमावली २०६६ को नियम ११ को उपनियम २ को व्यवस्थाले नेपाली मूलका विदेशी नागरिकले विगतमा नेपाली नागरिककै हैसियतले स्वामित्व प्राप्त गरेको सम्पत्तिमा समेत निजको हक कायमै रहने कुरालाई मान्यता दिएको देखिन्छ ।

तसर्थ नेपाली मूलको विदेशी नागरिकको विगतमा नेपाली नागरिक रहँदाका बखत कायम रहेको सम्पत्ति, अंशबापत प्राप्त गर्ने सम्पत्ति तथा अपुताली परी प्राप्त हुने सम्पत्तिसमेतको हक कायमै रहने हुन्छ ।

त्यस्तै, गैरआवासीय नेपालीसम्बन्धी ऐन २०६४, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ तथा अन्य नेपाल कानुन बमोजिम भए गरेको लगानीमा आर्जित सम्पत्तिमा नेपाली मूलका विदेशी नागरिकको समेत पूर्ण स्वामित्व रहने व्यवस्था कानुनमा गरिएको पाइन्छ ।

(चार्टर्ड फाइनान्सियल एनालिस्ट बस्याल ‘बस्याल एन्ड कम्पनी’का म्यानेजिङ डाइरेक्टर हुन् ।)
 

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १२:५०
प्रतिक्रिया दिनुहोस्