एउटा ‘एक्स्काभेटर’को भरमा ग्वार्को फ्लाइओभर निर्माण, सकिएला त २ वर्षमा काम ?

मंगलबार, फागुन १६, २०७९

काठमाडौँ– गत मंसिर २३ गतेदेखि ग्वार्को फ्लाइओभर निर्माण औपचारिक रूपमा सुरु गरियो ।

निर्माण सुरु भएको साढे २ महिना बितिसक्दा भने फ्लाइओभर निर्माणमा सुस्तता देखिन थालेको छ । अर्थात्, निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले निर्माणमा खासै चासो देखाएको छैन ।

साढे २ महिनामा निर्माण कम्पनीले एउटा एक्स्काभेटर आयोजना क्षेत्रमा महिनौँदेखि देखाइरहेको छ, निर्माण केही अघि बढेको छैन ।

काठमाडौँ उपत्यकाको ट्राफिक जाम न्यूनीकरण र यातायात सञ्चालनमा सहजता ल्याउने उद्देश्यअनुसार अघि बढेको फ्लाइओभर ‘एसेम्बल’ मोडलमा निर्माण गरिने छ । 

अर्थात्, फ्लाइओभरमा रहने पिल्लरहरू तथा फाउन्डेसनको निर्माण आयोजना स्थलमै गर्नुपर्ने हुन्छ । 

तर, फ्लाइओभर निर्माणका लागि आधारभूत काम समेत अहिलेसम्म निर्माण कम्पनीले अघि बढाउन सकेको छैन । आयोजना स्थलमा निर्माण सुरु भएदेखि नै ठड्याएको एक्स्काभेटर अहिले पनि छ । 

सुरु–सुरुमा अलिअलि काम गरेको जस्तो देखिए पनि पछिल्लो डेढ महिनायता ‘एक्स्काभेटर’ ले कुनै काम गरेको छैन । अहिले फ्लाइओभर बनाउन ग्वार्को चोकबाट बालकुमारीतर्फको सडकखण्डको सहायक सडकको कालोपत्रे उप्काइएको छ । 

र, दुवै साइडतिरको सवारीसाधन सञ्चालन बन्द गर्दा यात्रुले दैनिक सास्ती भोग्नुपरिरहेको छ ।

ग्वार्को फ्लाइओभर निर्माणको ठेक्का पाएको आशिष समानान्तर रेलिगेयर जेभीले पाएको हो । ग्वार्को फ्लाइओभर ४ लेनमा बनाउने गरी उसले लागत अनुमानभन्दा ३८ प्रतिशत कम मूल्यमा (१७ करोड ६ लाख रुपैयाँ) बराबरमा ठेक्का पाएको हो ।

सडक विभाग र ठेकेदार कम्पनीको सम्झौताबमोजिम २ वर्षभित्र फ्लाइओभर निर्माण सम्पन्न गर्नुपर्ने समय सीमा छ । तर, अहिलेको निर्माण र कामको गति हेर्दा समय सीमाभित्र फ्लाइओभर निर्माण नहुने हो कि भन्ने आशंका पैदा भएको हो ।

ठेक्का पाएपछि निर्माण सुरु गरेपछि निर्माण कम्पनीले कुल लागत मूल्यको १० प्रतिशत ‘मोबिलाइजेसन’ रकम पाउने गर्छ । ग्वार्को फ्लाइओभरको सन्दर्भमा पनि आशिष समानान्तर जेभीले ठेक्का रकमको १० प्रतिशत अर्थात् १ करोड ७७ लाख रुपैयाँ प्राप्त गरिसकेको छ ।

मोबिलाइजेसन रकम पाएर पनि निर्माण कम्पनीले काममा गति बढाउन सकेको छैन ।

ठेकेदार कम्पनीको बद्नाम विगत

यस ठेकेदार कम्पनीले ४५ महिनाभित्र सम्पन्न गर्ने गरी सन् २०१८ जुलाई १७ मा हनुमन्ते नदी किनारमा तटबन्ध निर्माणको ठेक्का सम्झौता गर्यो । 

सम्झौताअनुसार, सन् २०२२ अप्रिलसम्ममा निर्माण सक्नुपर्ने थियो । तर, अहिलेसम्म निर्माण सम्पन्न गर्न सकेको छैन ।

लगातार म्याद थप गर्दै निर्माण कम्पनीले काम गरिरहेको छ । ६७ करोड ५४ लाख रुपैयाँ ठेक्का सम्झौतामा काम अघि बढे पनि निर्माण कम्पनीले समय सीमाभित्र काम गर्न सकेको छैन ।

सोही क्षेत्रमा उक्त कम्पनीले नै ठेक्का लिएको चारदोबाटो–बालकोट पुल निर्माण पनि तोकिएको समयभित्र पूरा गर्न सकेको छैन । ३३ महिनाभित्र सम्पन्न गर्ने गरी सन् २०१९ सेप्टेम्बर १० मा ठेक्का सम्झौता पाएको कम्पनीले अहिलेसम्म पुल निर्माण सम्पन्न गरेको छैन ।

सम्झौताअनुसार निर्माण कम्पनीले सन् २०२२ जुनभित्र पुल निर्माण सक्नुपर्ने थियो । सम्झौताको समय सीमा गुज्रिएको करिब १ वर्ष बित्दा बल्ल पुल निर्माणको ६५ प्रतिशत मात्र काम सकिएको आयोजना प्रमुख राकेश साँढाले सिएन नेपाललाई जानकारी दिए ।

यता, म्याग्दीको बेनी–दरबाङ सडक विस्तारको ठेक्का लिएको करिब ६ वर्ष बितिसक्यो । तर, काम फत्ते गरेको छैन ।

४ वर्षभित्र सम्पन्न गर्ने सम्झौता भए पनि निर्माण कम्पनीको ढिलासुस्तीले अहिलेसम्म पनि सडक विस्तारको काम पूरा हुन सकेको छैन ।

निर्माण कम्पनी आशिष समानान्तरले ४ वर्षभित्र सम्पन्न गर्ने गरी सन् २०१७ जुलाई २१ मा सडक विभागसँग ठेक्का सम्झौता गरेको थियो । उक्त सडकखण्ड विस्तारको काम अहिलेसम्म पनि अधुरै छ ।

यता, इमाडोल–सिद्धिपुर–गोदावरी खोला–लुभु लामाटार सडक विस्तारको काम पनि ६ वर्ष भयो, पूरा गर्न सकेको छैन । ४ वर्षमा सम्पन्न गर्ने गरी सन् २०१७ जुलाई १७ मा ठेक्का सम्झौता पाएको थियो । सो खण्डको काम अहिलेसम्म ९० प्रतिशत मात्र सम्पन्न भएको आयोजनाका प्रमुख अजित खनालले बताए । 

बाग्मती किनारमा पर्ने उत्तरगया, गुह्येश्वरी, गोकर्ण र थापाथली–बल्खु खण्डको नदी उकास, तटबन्ध निर्माणको ठेक्का पनि यसै कम्पनीले लिएको छ ।

कम्पनीले सन् २०१९ अक्टोबर १८ मा ३ वर्षभित्र सम्पन्न गर्ने सम्झौताअनुसार १ अर्ब १२ करोड रुपैयाँ बराबरको ठेक्का पाएको थियो । तर, हालसम्म नदी किनारमा सम्झौताबमोजिको संरचना निर्माण पूरा हुन सकेको छैन ।

सो आयोजनाको हालसम्म ७८ प्रतिशत मात्र काम भएको आयोजना प्रमुख रामचन्द्र गैरेले बताए । 

न्यून ‘बोलकबोल’ गरेर ठेक्का हत्याउने, तर समयमै आयोजना सम्पन्न गर्न नसक्ने कम्पनीले ग्वार्को फ्लाइओभर निर्माण पनि समय सीमाभित्र सम्पन्न गर्ने कुरामा आशंका उब्जिएको छ ।

त्यतिमात्र होइन, न्यून कबोलमा पाएको ठेक्काको मोबिलाइजेसन रकम बुझेर समय सीमाभित्र सम्पन्न गर्न ठेकेदारले तदारुकता नदेखाउँदा अन्य कैयौँ आयोजना अलपत्र परेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  ०७:४५
प्रतिक्रिया दिनुहोस्