अविरल जनसाहित्य यात्रामा कवि श्रेष्ठका कविता

शनिबार, फागुन १३, २०७९

काठमाडौँ– राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालको मासिक अविरल जनसाहित्य यात्राको ७६औँ शृङ्खलामा आज कवि मीना श्रेष्ठका एक दर्जन कविता प्रस्तुत भएको छ । हाल प्रदेश नं १ का प्रदेशसभा सदस्य कवि श्रेष्ठका दुई कृति प्रकाशित छन् ।

कार्यक्रममा नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं बागमती प्रदेशका इञ्चार्ज काशीनाथ अधिकारीले मुलुकमा राजनीतिक क्रान्ति पूरा भए पनि आर्थिक र सांस्कृतिक क्रान्ति पूरा हुन बाँकी रहेकाले साहित्यकारहरूले त्यसअनुसारका रचना गर्नुपर्ने बताए । उनले विद्यमान राजनीतिक अस्थिरता, शक्ति राष्ट्रबीचको प्रतिस्पर्धा, राष्ट्रियता, स्वाधीनता र हितको प्रश्नका चुनौतीको सामना गर्न पनि आग्रह गरे ।

समालोचक डा दुर्गा दाहालले श्रेष्ठका कवितामा महिला मुक्ति, श्रमिक अधिकार, राष्ट्र, राष्ट्रियता र जनजीवनका भाव र भावनाहरू अभिव्यक्त भएको बताए । श्रेष्ठको कविता वाचनमा डम्बर पहाडी ‘एलाक’, यशोदा अधिकारी, रूपक अलङ्कार र मणि खतिवडाले सघाएका थिए ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालका अध्यक्ष प्रेमनाथ अधिकारीले स्रष्टाहरूले क्रान्तिचेतलाई सधैँ जीवन्त राख्नुपर्नेमा जोड दिँदै अविरल यात्राले त्यो कडीलाई जोडेको बताए । सङ्घका अध्यक्ष राम विनयले सबैले सबैलाई गर्न मिल्ने वर्गीय प्रेम भएकाले त्यही प्रेमले आफूहरूलाई एकापसमा बाँधेको र सिर्जनाका माध्यमबाट वर्गीयता प्रकट गराउनुपर्ने खाँचो औँल्याए ।

अविरल यात्रामा संयोजक डा हरिप्रसाद सिलवालले कवि श्रेष्ठको व्यक्तित्वबारे प्रकाश पारेका थिए । सङ्घका महासचिव प्रकाश सिलवालले आउँदो चैत महिनाको दोस्रो शनिबार हुने सो यात्रामा कवि सुरेश हाचेकालीका एकल कविता प्रस्तुत गरिने जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  २१:१३
प्रतिक्रिया दिनुहोस्