डा.सन्दुक रुइतलाई बहराइनको प्रतिष्ठित ‘इशा अवार्ड’ प्रदान

मंगलबार, फागुन ९, २०७९

काठमाडौँ –नेपालका नेत्र चिकित्सक डा.सन्दुक रुइतलाई बहराइन सरकारका तर्फबाट राजा हमाद बिन इसा अल खालिफाले प्रतिष्ठित इशा अवार्ड प्रदान गरेका छन् ।

राजधानी मनामास्थित इशा सांस्कृतिक केन्द्रमा मंगलबार आयोजित विशेष समारोहमा राजा हमाद बिन इशा अल खालिफाले १ मिलियन डलर राशि अर्थात् झन्डै १४ करोड रुपैयाँको पुरस्कार तथा सम्मान डा.रुइतलाई प्रदान गरेका हुन् ।

आफ्ना पिता सेख इसा बिन सलमान अल खालिफाका नाममा सन् २००९ मा स्थापित यो सम्मान हरेक दुई वर्षमा र ‘मानवताका लागि सेवा’ गर्ने विश्वभरकै कोही व्यक्ति÷संस्थालाई प्रदान गरिँदै आएको छ ।

तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा.रुइतले विकासोन्मुख मुलुकका नागरिकमा रहेको अन्धोपनाको उपचारमा गरेको निरन्तरको प्रयत्नका निम्ति’ बहराइन सरकारले यो विशिष्ट सम्मान प्रदान गरेको हो । 

नेत्र चिकित्सक डा. रुइतले आफ्नै हातले अहिलेसम्म १ लाख २५ हजार भन्दा धेरै व्यक्तिको शल्यक्रिया गरिसकेका छन् र ७० भन्दा बढी देशमा प्रत्यक्ष÷परोक्ष सेवा दिइसकेका छन् ।

रुइतको प्रयासले इन्ट्राअक्युलर लेन्स(प्रति)को मूल्य ३ डलरमै उत्पादन सम्भव भएको छ । नेपालमै उत्पादित करीब ६० लाख इन्ट्राअक्युलर लेन्स विश्वभर वितरण भइसकेको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १६:५९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार