नेभिगेशन
समाज विविध

१५ दिने मिथिला माध्यमिक परिक्रमा सुरु

जनकपुरधाम–मिथिला मध्यमिक परिक्रमा सोमबारदेखि सुरु भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीस्थित मिथिला बिहारी कुटीबाट डोला निस्किएसँगै १३३ किलोमिटरको १५ दिने परिक्रमा यात्रा सुरु भएको हो ।

परिक्रमा यात्राको शुभारम्भ गर्दै मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मिथिला बिहारीको डोला काँधमा बोकेका थिए ।

त्रेता युगदेखि जनकपुरधामस्थित सुन्दर सदन कुटीबाट किशोरीजी र कचुरीबाट मिथिला बिहारीको डोलासँगै १५ दिने मिथिला माध्यमिक परिक्रमा हुँदै आएको छ ।

नेपालकै सबैभन्दा लामो १५ दिने मिथिला मध्यमिक परिक्रमाका क्रममा श्रद्धालु नेपाल र भारतका १५ धार्मिक स्थानमा पुग्ने गर्छन् । सोमबार कचुरीबाट निस्किएको परिक्रमाका यात्रु साँझसम्म जनकपुरधामको हनुमानगढीमा पुगी विश्राम गर्नेछन् ।

फागुन शुक्ल औँसीको दिन कचुरीबाट निकालिएको डोला हनुमानगढीमा विश्राम गरेर मंगलबार भारतको कल्याणेश्वर जानेछ । हनुमानगढीबाट निस्किएपछि मिथिला मध्यमा परिक्रमाको औपचारिक सुरुआत हुन्छ ।

श्रद्धालुले नेपालका धार्मिक तथा ऐतिहासिक ठाउँहरूको १०७ र भारतको २६ गरी १३३ किलोमिटर भूभागको परिक्रमा गर्ने गर्छन् । मिथिला मध्यमा परिक्रमा हनुमानगढी, भारतको कल्याणेश्वर, गिरिजास्थान, महोत्तरीका मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाका पर्वता, धनुषाधाम, सतोखर र औरही पुग्ने गरेका छन् ।

त्यसपछि भारतको करुणा, विशौललगायत धार्मिकस्थल हुँदै १४औँ दिनमा जनकपुरधाम फर्कनेछन् । त्यसपछि १ दिन जनकपुरधाममा विश्राम गरी भोलिपल्ट अन्तगृही घुमेपश्चात् परिक्रमा सम्पन्न हुन्छ । यी सबै विश्रामस्थलको आफ्नै विशेषता छ । महोत्तरीको कञ्चनवन पुगेर श्रद्धालु भव्य रूपमा होली खेल्ने परम्परा छ । त्यही दिनदेखि तराईमा होलीको सुरुआत हुन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

निकुञ्जमा गैँडा हेर्ने समय