प्रधानसेनापतिसँग भारतीय सेनाका पूर्वप्रमुखको भेटवार्ता

आइतबार, फागुन ७, २०७९

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्मासँग नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिने सिलसिलामा नेपाल भ्रमणमा रहेका भारतीय सेनाका पूर्वप्रमुखहरूले भेटघाट र छलफल गरेका छन् ।

सैनिक मुख्यालय जङ्गी अड्डामा प्रधानसेनापतिसहित समकक्षसँग उनीहरूले दुईपक्षीय सम्बन्ध र आपसी हितका विषयमा केन्द्रित रही भेटघाट र छलफल गरेका हुन् ।

भारतीय सेनाका पूर्वप्रमुख विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर र दलवीरसिंह सुहाग नेपाल भ्रमणमा छन् ।

सेना दिवसका अवसरमा नेपाली सेनाले आजै जङ्गी अड्डामा आयोजना गरेको विविध सांस्कृतिक कार्यक्रममा समेत उनीहरू सहभागी भए । 

यसअघि उनीहरूले आजै मुस्ताङको जोमसोम इलाकाको भ्रमण र मुक्तिनाथ मन्दिरको दर्शन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सैनिक मञ्च टुँडिखेलमा शनिबार आयोजना भएको सेना दिवस मुख्य समारोहमा उनीहरूले अथितिका रूपमा भाग लिएका थिए ।

नेपाल र भारतबीच एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने अनुपम परम्परा छ । नेपाली सेनाले यस वर्ष २६०औँ स्थापना दिवस मनाएको छ  ।

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  २१:१७
प्रतिक्रिया दिनुहोस्