महाकालीमा नेपाल–भारत जोड्ने थप दुईवटा झोलुङ्गे पुल सञ्चालन

बिहीबार, फागुन ४, २०७९

दार्चुला– दार्चुलाको महाकाली नदीमा नेपाल–भारत जोड्ने गरी थप दुईवटा झोलुङ्गे पुल सञ्चालनमा आएको छ । 

महाकालीमा तुइन विस्थापन कार्यक्रमअन्तर्गत निर्माणाधीन झोलुङ्गे पुल निर्माण सम्पन्न भएपछि पुल सञ्चालनमा आएको हो ।

झोलुङ्गे पुलको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र भारत पिथौरागढका जिल्ला अधिकारी रीना जोशीले बिहीबार उद्घाटन गरे ।

मालघाट र मालघट्टेमा झोलुङ्गे पुल निर्माण भएपछि तुइनमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको व्यास गाउँपालिकाका अध्यक्ष मङ्गलसिंह धामीले बताए ।

‘पुल निर्माणले व्यासीको वर्षौँदेखिको पीडामा केही मलम लागेको छ’, उनले भने, ‘यहाँका स्थानीय बजार आउजाउ गर्न सहज हुने भएको छ ।’ यसअघि पुल निर्माणको सम्झौता भए पनि ठेकेदारले काममा ढिलाइ गरेका कारण समस्या भएको थियो ।

नेपाल–भारत जोड्ने झोलुङ्गे पुल सञ्चालनमा आएपछि दुवै देशका नागरिकलाई आवतजावतमा सहज भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । उनले भने, ‘यो पुलले दुवै राष्ट्रको सम्बन्धमा नयाँ आयाम थपिदिएको छ।’

भारत पिथौरागढ जिल्ला अधिकारी जोशीले वर्षौँदेखिको नागरिकको समस्या झोलुङ्गे पुल सञ्चालनपछि सहजता आएको प्रतिक्रिया दिए । ‘नेपाल–भारत दुईदेशीय सम्बन्धमात्र नभई रोटीबेटीको सम्बन्ध अझै मजबुत बनाइदिएको छ’, उनले भने । 

झोलुङ्गे पुलको भारततर्फ एसएसबी र नेपालतर्फ जनपद प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिन थालेका छन् । दुई देशको सम्बन्ध भएका कारण दुवैतर्फ चोरी तस्करी अवैध घुसपैठ रोक्न सुरक्षाकर्मीले सहयोग पुग्नेछ ।

महाकालीमा झोलुङ्गे पुल निर्माण भएर सञ्चालनमा आएसँगै तुइनबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।

नेपालतिर सडक कालोपत्र भइनसकेको अवस्था व्यासका नागरिकका लागि सहज बाटोका रूपमा भारतीय सडक पर्दछ । भारतले डबल लेनको सडक निर्माण गरेका कारण नागरिक भारतीय बाटोको प्रयोग गर्दै खाद्यान्न, दैनिक उपभोग्य सामान ढुवानी गर्छन् ।

अहिले उद्घाटन भएका पुल निर्माणसँगै दार्चुलामा महाकाली नदीमाथि नेपाल–भारत जोड्ने १० वटा झोलुङ्गे पुल सञ्चालनमा आएका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सरकारको तुइन विस्थापित अभियानअन्तर्गत पछिल्लो दुई वर्षमा महाकालीमा चारवटा पुल सञ्चालनमा ल्याइएको जनाएको छ ।

विसं २०७३ पछि लेकम–३ लाली, मालिकार्जुन गाउँपालिका–६ बाँकु र व्यास गाउँपालिका–६ बडूगाउँ र तिगरममा झोलुङ्गे पुल निर्माण भएको हो ।

यसअघि दार्चुला सदरमुकाम खलङ्गास्थित पुलघाट, व्यासको सीतापुल, महाकाली नगरपालिकाको दत्तु र मालिकार्जुन गाउँपालिकाको जोलजीवीमा झोलुङगे पुल सञ्चालनमा छ ।

दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारत पिथौरागढको मल्ला छारछुमबीच यातायात सुविधा सहज बनाउने उद्देश्यसहित महाकाली नदीमा पक्की पुल निर्माण भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  २०:२८
प्रतिक्रिया दिनुहोस्