टर्की भूकम्पमा चमत्कार : २२८ घन्टापछि जीवितै उद्धार

बिहीबार, फागुन ४, २०७९

काठमाडौ– टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पको ९ दिनभन्दा बढी समय बितिसक्दा पनि उद्धारकर्ताहरूले भग्नावशेषबाट मानिसहरूलाई जीवितै निकाल्न सफल भइरहेका छन् ।

टर्कीको राज्य सञ्चालित समाचार एजेन्सी अनादोलुका अनुसार बुधबार ३ महिला र २ बालबालिकालाई भग्नावशेषबाट जिवितै गरिएको छ ।

एला नामकी एक महिला र उनका छोराछोरी मेसाम र अलीलाई भूकम्प गएको २२८ घण्टापछि टर्कीको दक्षिणी सहर कहरामनमारासको अन्टाक्यास्थित एउटा अपार्टमेन्ट ब्लकको भग्नावशेषबाट जिवितै निकालिएको हो ।

यस्तै सोही स्थानबाट थप २ महिलाको जिवितै उद्धार गरिएको थियो । टर्कीको सरकारी टेलिभिजन टीआरटी हबेरका अनुसार काहरामानमारास सहरको भग्नावशेषमा २२२ घण्टा पछि ४७ वर्षीय मेलिके इमामोउलु अर्की महिलालाई उद्धार गरिएको हो ।

यस्तै टर्कीको राष्ट्रिय रक्षा मन्त्रालयले भूकम्प गएको करिब २१२ घण्टापछि अदियामान सहरमा ७४ वर्षीय महिलालाई भग्नावशेषबाट फतमा गुन्गोररलाई जीवितै निकालेपछि उनको परिवारले अँगालो हालेर हर्षविभोर भएका थिए ।

एम्बुलेन्सले ती महिलालाई अस्पताल लिएर गएपछि उद्धारकर्ताहरूले एकअर्कालाई ताली बजाउँदै र अँगालो हालेका थिए ।

मंगलबार पनि सोही ठाउँबाट एक ४६ वर्षीया महिलालाई उद्धार गरिएको थियो ।

विनासकारी भूकम्पमा परी टर्की र सिरियाका कम्तपमा ४१ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  ११:३०
प्रतिक्रिया दिनुहोस्