बालेनको रिटमा सर्वोच्चको अन्तरिम आदेश– जरिमाना तत्काल तिर्नुनपर्ने

बुधबार, फागुन ३, २०७९

काठमाडौँ– चुनावी खर्चको विवरण समयमा नबुझाएकाले जरिमाना तिर्नुपर्ने भन्दै निर्वाचन आयोगले गरेको निर्णयविरूद्ध काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले दिएको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

मेयर शाहले आफूलाई जरिमाना तिराउने निर्वाचन आयोगको निर्णयविरूद्ध गत पुसमा दिएको रिटमाथि सुनुवाइ गर्दै आज सर्वोच्चको संवैधानिक इजलासले अन्तरिम आदेश दिएको हो ।

कामु प्रधानन्यायधीश हरिकृष्ण कार्की, न्यायधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले निर्वाचन आयोगले तोकेको जरिमानाबारेको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।

 

balen1676467368.JPG

साथै, सर्वोच्चले आयोगको गोश्वारा निर्णयमा प्रश्न उठाउँदै कारण देखाऊ आदेशसमेत जारी गरेको छ ।

गत भदौ ३१ मा आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई कानुनबमोजिम बुझाउनुपर्ने निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारलाई कारबाही गर्ने सम्बन्धमा जरिमाना तिर्नुपर्ने निर्णय गरेको थियो । 

निर्वाचन खर्चको विवरण नबुझाएका कारण आयोगले १ लाख २३ हजार ६५० जना उम्मेदवारलाई कारबाही स्वरूप १ लाख ५० हजार देखि ७ लाख ५० हजार रुपैयाँसम्म जरिमाना गर्ने निर्णय गरेको थियो । सोही निर्णयविरूद्ध  मेयर शाहले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १९:००
प्रतिक्रिया दिनुहोस्