टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या २८ हजार नाघ्यो

आइतबार, माघ २९, २०७९

एजेन्सी– टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी २८ हजार एक सय ९२ जनाको मृत्यु भएको छ । हजारौ घाइते भएका छन् । 

टर्कीएको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पबाट १० वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ ।      

हालसम्म टर्कीएमा २४ हजार ६ सय १७ जनाले ज्यान गुमाएको उपराष्ट्रपति फुवाट ओक्टेले बताए । 

सिरियामा तीन हजार ५ सय ७५ जनाको ज्यान गएको छ । 

सरकार नियन्त्रित क्षेत्रमा एक हजार ४ सय ८ जना तथा विद्रोहीको पकड भएका भूभागमा २ हजार एक सय ६७ जनाको मृत्यु भएको उद्धारमा संलग्न स्वयम्सेवी संस्थाका प्रतिनिधिहरूले बताएका छन् ।       

विद्रोहीको पकड रहेको उत्तरपश्चिमी सिरियमा उद्धारका काम समाप्त भएको जनाउँदै स्वयमसेवी संस्थाहरूले लामो गृहयुद्धका कारण त्यहाँ राहतका कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएको बताएका छन् । 

सिरिया सरकारले विद्रोही नियन्त्रित क्षेत्रमा राहतका कार्यक्रम सञ्चालन गर्ने अनुमति दिएको बताए पनि त्यससम्बन्धी वास्तविक विवरण दिएको छैन ।

इटालीका रक्षामन्त्री गुइडो क्रोसेटोले सिरियाली भूकम्पपीडितलाई सहायता सामग्री बेरुतको लेबनानबाट परिचालन गरिएको बताए । रेडक्रस र रेडक्रिसेन्टलगायत अन्तर्राष्ट्रिय परोपकारी संस्थामार्फत राहत सामग्री वितरण गरिने जानकारी उनले दिए ।

भैँचालोले भत्काएको भवनको भग्नावशेषबाट जीवितै उद्धार गर्न टर्र्कीएमा उद्धारकर्मी अझै सङ्घर्ष गरिरहेका छन् भने केही संस्थाले सुरक्षाका कारण खोज तथा उद्धारका काम रोकेका छन् । टर्की सरकारले गुणस्तरहीन भवन बनाएको अभियोगमा कयौँ निर्माण व्यवसायीलाई पक्राउ गरेको छ । अदाना शहरका अभियोजकले भत्केका भवनका सम्बन्धमा अनुसन्धान गर्न ६२ जनालाई हिरासतमा राख्न आदेश गरेका छन् ।

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  १४:२५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार