गरिबमाथि महानगरको ज्यादती

ठेलामुनिबाट एउटी महिलाको चित्कार : ‘मकै बेचेर छोरो पालेकाे छु, मलाई छाड्दिनुस् दाइ’

बिहीबार, माघ २६, २०७९

काठमाडौं– बिहीबार दिउँसो धोविखोला करिडोरबाट बुद्धनगर छिर्ने बाटोको छेउमा एक जना महिला मकै राखिएको ठेला गुडाउँदै थिइन् । 

त्यहीँ बेला काठमाडौं महानगरका महानगरीय प्रहरी आइपुगे । उनीहरुलाई देख्नासाथ ती महिला ठेला दौडाउँदै भागिन् । महानगरीय प्रहरीले लेखेटिरह्यो । 

करीब २ सय मिटर दौडिएपछि उनी भाग्न सकिनन् र ठेलामुनी पसेर हारगुहार गर्न लागिन् । 

महानगरीय प्रहरीले भने ती महिलाको पाखुरामा समातेर तानिरहे । महिला गुहार मागिरहिन् । 

‘मलाई केही नगर्नुस् । मकै बेचेर छोरो पालिरहेको छु । मलाई छाड्दिनुहोस् दाइ’, ठेलामुनीबाट ती महिलाको चित्कार आइरहेको थियो । 

महानगरीय प्रहरील टोलीले भने ठेलाबाट बाहिर निस्कन भन्दै हपारिरहेको थियो । 

‘बाहिर निस्किनुस् न पहिला । फोटो त हेर्न परेन ? अनुहार हेर्न परेन भन्या । अनुहार के छ, कस्तो छ ? चिन्नुपर्‍याे नि’, महानगरीय प्रहरीमध्येका एकले भने । 

केहीबरेमा उनी ठेलामुनीबाट बाहिर निस्किइन र दुई हात जोडेर बिन्ति गर्न थालिन, ‘म भोलिबाट आउदिन दाइ, मलाई छाडिदिनुस् ।’

उनले सडकबीचमा रहेर यस्तो चित्कार गरिरहँदा वरपरबाट रमिता हेर्नेको भीड लागिसकेको थियो । 

ती महिला भने भुँइमै बसेर हात जोर्दै ठेला र मकै छाडिदिन महानगरीय प्रहरीसँग भीख माग्दै डाँको छाडेर रोइरहिन् । 

केहीबेरमा महानगरीय प्रहरीकाे टोली प्रमुखले उनलाई छाडिदिन भने । अनि, अर्को एक प्रहरी बोले, ‘भोलिदेखि नआउनुस् है । हामीले खिचेका छौं । भोलि पनि देख्यौ भने हाल्छौं फेरि ।’ त्यसपछि महानगरीय प्रहरीको टोली हिड्यो । 

महिला भने डाँको छाडेर रोइरहिन् । वरपर जम्मा भएका मानिसमध्ये एकले भुँइमा छाडिएको मकैको बोरा ल्याएर ठेलामा राखिदिए । अरुले ती महिलालाई सम्झाए, ‘अब नरुनुस्, तपाइँको ठेला र मकै यहीँ छ । रूनु हुँदैन ।’

मकै बेच्दै ठेला लिएरै छोरो लिन स्कूल जान लागेको र महानगरीय प्रहरीले बाटोमा भेटेको उनले बताइन् । 

‘बाबु लिन जान ढिलो भइरहेको थियो । बाबु लिएर घर जान लागेको थिए । उनीहरुले यही चोकमै भेटे । म दौडिदै भागे । उनीहरु पछ्याउँदै आए’, उनले भनिन् । 

अढाइ वर्षको छोरोलाई बिहान गाढामै लिएर मकै बेच्न निस्कने गरेको उनले बताइन् । 

‘बिहान ठेलामै राखेर ल्याउँछु । केहीबेर मकै बेच्छु र जाउलो खुवाएर स्कूल पुर्‍याउँछु’, ती महिलाले भनिन्, ‘दिउँसो पनि मकै बेच्छु र ठेलामै स्कूलबाट छोरालाई लिएर घर फर्कन्छु ।’

घरमा सासु, सुसुरा र आमा रहेको उनले बताइन् । मकै बेचेर नै परिवार पाल्ने र छोरो पढाउने बाध्यता रहेको उनले सुनाइन् । 

‘मेरो बाबु ९ महिनाको हुँदादेखि नै ठेलामा राखेर लिएर हिडेको हुँ । अहिले अढाइ वर्षको भयो’, उनले भनिन् । 

महानगरले गरिबहरुमाथि अन्याय गरेको उनको गुनासो छ । 

‘हामीलाई निश्चित समय तोकिदिए त्यहीँ बेला व्यापार गर्थ्याै‌ । राती ७ बजे पनि खेद्ने, बिहान ७ बजे पनि खेद्ने गरेपछि के गरेर खाने हामीले ?’, उनले भनिन् । 

उनको एउटा हात आगोले पोलेका कारण अरु काम गर्न नसक्ने रहिछन् । ठेलामा मकै बेच्नु नै आफ्नो बाध्यता भएको उनले बताइन् । 

लमजुङ स्थायी घर भएको उनी काठमाडौंको मीनभवनमा डेरामा गरी बस्दै आएकी रहिछन ।

महानगरीय प्रहरीले लखेटेको र उनले आफ्नो ठेला जोगाउनको लागि गरेको चित्कारसहितको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

(सामाजिक सञ्जालमाभाइरल भइरहेको भिडियोबाट यो स्टोरी तयार पारिएको हुँदा मकै बेच्ने ती महिलाको नाम उल्लेख  हुन सकेको छैन)

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  २०:१९
प्रतिक्रिया दिनुहोस्