टिप्पणी

राष्ट्रपति निर्वाचनले अलमलियो राजनीति, सरकारको काम छाडेर नेता रिझाउन प्रधानमन्त्री व्यस्त

बुधबार, माघ २५, २०७९

काठमाडौं– आसन्न राष्ट्रपति निर्वाचनलाई राजनीतिक दलहरूले दाउपेचको विषय बनाउँदा राष्ट्रिय राजनीति नै अलमलिएको छ ।

राष्ट्रपति निर्वाचनको मिति जति नजिकिँदै छ, त्यति नै मुख्य राजनीतिक दलहरू चुनावी रणनीतिमा केन्द्रित भइरहेका छन् ।

मुख्य गरी नेकपा एमाले र नेपाली कांग्रेसले आफ्नो उम्मेदवार जिताएर शीतल निवास पठाउन चाहेका छन् । तर, संसद्मा भएका अन्य दलहरू राष्ट्रपति निर्वाचनका विषयमा स्पष्ट नहुँदा राष्ट्रिय राजनीति नै अन्योलग्रस्त छ । 

वर्तमान सरकार गठनको सहमति हुँदा पुस १० मा नेकपा एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति एमालेले पाउने सहमति भएको थियोे । 

तर, पुस २६ मा संसद्बाट विश्वासको मत लिएपछि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परिस्थिति फेरिएको भन्दै राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने बताउन थालेका छन् । 

राष्ट्रपति निर्वाचनमा निर्णायक मत माओवादी केन्द्रसँग छ । एमाले र कांग्रेसमध्ये माओवादी केन्द्रले जसको उम्मेदवारलाई सघाउँछ, त्यही उम्मेदवार राष्ट्र प्रमुखका रूपमा शीतल निवास प्रवेश गर्न पाउँछ । 

अर्कातर्फ, माओवादी केन्द्रले आफ्नो निर्णायक मत देखाएर नै सत्ता सहयात्री दल एमालेसँग बार्गेनिङ गरिरहेको छ भने सत्ताबाहिर पुगेको कांग्रेसलाई लोभ्याउन खोजिरहेको छ । कांग्रेसले पनि माओवादीप्रति नरम नीति अख्तियार गरिरहेको छ ।  

पुस २६ मा प्रधानमन्त्रीले विश्वासकाे मत लिने स‍सद बैठकमा का‌ग्रेस सभापति शेरबादुर देउवा र प्रधानमन्त्री प्रचण्ड

 

सत्तारूढ दलहरूलाई समेटेर बनाइएको उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बनेर सरकारको कमान्ड गरिरहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीको दिनचर्या भने प्रधानमन्त्रीलाई फकाउने र आफ्नो प्रभावमा राखिरहने प्रयासमा बितिरहेको छ । 

सोमबार दिउँसो प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली सिहंदरबार गएका थिए । मंगलबार बिहान भने प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर ओलीले प्रचण्डसँग संवाद गरेका थिए । बुधबार ओलीले प्रधानमन्त्री प्रचण्डलाई आफ्नो निवास बालकोटमै बोलाएर बार्दलीमा घाम ताप्दै राष्ट्रपनि निर्वाचनका सन्दर्भमा छलफल गरे ।

यो अहिले ओली र प्रचण्डको दैनिकी हो । प्रधानमन्त्री प्रचण्ड पनि सरकारको काम छाडेरै नेता रिझाउन व्यस्त छन् । 

oli prachand1675829048.jpg

उता कांग्रेसले भने दोस्रो र तेस्रो तहका नेतामार्फत माओवादी केन्द्रसँग संवाद गरिरहेको छ । कांग्रेससँगै जनता समाजवादी पार्टीले पनि उपराष्ट्रपति आफूले पाउनुपर्ने दाबी गरिरहेको छ । 

जनता समाजवादी पार्टीका नेता राजकिशोर यादव राष्ट्रपति र उपराष्ट्रपति चुनावमा आफूहरूको निर्णायक भूमिका हुने दाबी गर्छन् । राष्ट्रिय राजनीतिको पावर सेयरिङमा जसपाले पनि सम्मानजनक भूमिका खोजेको यादव बताउँछन् । 

प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको जसपाले उपराष्ट्रपति नपाउने अवस्थामा राष्ट्रपतिको चुनावमा कांग्रेसको उम्मेदवारलाई सहयोग गर्न सक्ने सम्भावना छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डलाई भेटेर उक्त विषयको जानकारी गराइसकेका छन् । 

जसपाका नेता यादव भने राष्ट्रपति चुनावकै कारण राष्ट्रिय राजनीतिक समीकरणमा फेरबदल आउन सक्ने दाबी गर्छन् । राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति खोज्नुपर्ने पक्षमै जसपा पनि रहेको यादवले बताए । 

एमालेबाहेकका नेताहरू राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्नुपर्ने तर्क गरिरहेका छन् । तर, एमाले अध्यक्ष ओली भने एमालेले अघि सारेको उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने बताइरहेका छन् ।

कानुनी हिसाबले संवैधानिक भूमिका रहेको राष्ट्रपति पद व्यावहारिक रूपमा कार्यकारीजस्तो देखिन्छ । त्यसो हुँदा दलहरू आफ्नो अनुकूलको व्यक्ति राष्ट्र प्रमुखका रूपमा शीतल निवासमा रहोस् भन्ने चाहन्छन् ।

बुधबार बालकोटमा भएको छलफलपछि बिहीबार राजनीतिक संयन्त्रको बैठक राख्ने र त्यहाँ राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्ने सहमति प्रचण्ड र ओलीले गरेका छन् । 

राजनीतिक दलहरूले राष्ट्रपतिको कुर्सी तानातान गरिरहकै कारण राष्ट्रिय राजनीतिले स्पष्ट दिशा निर्देश पाएको छैन । कम्तीमा फागुन २५ गतेसम्म राजनीतिक दलहरूले राष्ट्रपतिको कुर्सी आफ्नो प्रभावका ल्याउन रस्साकस्सी गरिरहने अवस्था देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्