Nic Ad Nic Ad
Nic Ad Nic Ad

टर्कीको भूकम्प प्रभावित क्षेत्रबाट १३ नेपाली सम्पर्कमा

दूतावास भन्छ– नेपाली हताहत भएको खबर छैन
बुधबार, माघ २५, २०७९

काठमाडौँ– टर्कीको भूकम्प प्रभावित क्षेत्रबाट १३ जना नेपाली सम्पर्कमा आएका छन् ।

उनीहरू अध्ययन र रोजगारीका लागि त्यहाँ पुगेको पाकिस्तानस्थित नेपाली दूतावासले जनाएको छ । टर्कीमा रहेका नेपालीहरू समस्यामा परे पाकिस्तानको दूतावासले हेर्दै आएको छ ।   

सम्पर्कमा आएका १३ नेपालीलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा सेल्टर हाउस र होटलमा राखिएको दूतावासले जनाएको छ । 

भूकम्प प्रभावित क्षेत्रमा करिब ६० देखि ७० जनाको हाराहारीमा नेपाली हुन सक्ने र उनीहरू सुरक्षित स्थानमा सरिसकेको दूतावासले जनाएकोे छ । 

टर्कीको भूकम्पमा अहिलेसम्म नेपाली हताहत भएको सूचना नपाएको र नेपालीहरूको अवस्था बुझ्ने काम भइरहेको पाकिस्तानस्थित नेपाली दूतावासका राजदूत तपस अधिकारीले जानकारी दिए । 

सम्पर्कमा आएकाहरू सबै सुरक्षित स्थानमा रहेको र भूकम्प प्रभावित क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित स्थानमा सारिएको उनले बताए ।

प्रभावित क्षेत्रका नेपालीलाई खानाको व्यवस्था पनि स्थानीय नगरपालिका र रेडक्रस सोसाइटीलगायत संघसंस्थाले गरिरहेको जानकारी पाएको उनको भनाइ छ । 

उनले भने, ‘भूकम्प प्रभावित क्षेत्रमा बाटो बन्द भएको ठाउँबाट सेनाको हेलिकोप्टरले पनि अत्यावश्यक वस्तुहरू लगिरहेको सूचना आएको छ । नगरपालिकाले पनि खाना, कपडालगायत अत्यावश्यक कुराहरूको व्यवस्था गरिरहेको छ ।’

भूकम्पमा कोही पनि नेपाली परेकोबारे औपचारिक जानकारी नआएको उनको भनाइ छ । 

भूकम्प गएकै दिन सोमबारदेखि एनआरएनए टर्कीको समन्वयमा प्रभावित क्षेत्रमा रहेका नेपालीको खोजी भइरहेको दूतावासले जनाएको छ । 

दूतावासका अनुसार टर्कीमा कति नेपाल छन् भन्ने यकिन तथ्यांक नभएको र ३ हजारको हाराहारीमा टर्कीमा नेपाली रहेको दूतावासको अनुमान छ ।

टर्की र सिरियाको सिमानामा सोमबार बिहान ७ दशमलव ८ र दिउँसो ७ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पपछि त्यहाँ परकम्पहरू पनि गइरहेका छन् । यो रिपोर्ट तयार पार्दासम्म टर्कीमा भूकम्पबाट ८ हजार ७०० जनाले ज्यान गुमाएको बिबिसीले जनाएको छ ।

भूकम्प प्रभावित क्षेत्र टर्कीको राजधानी स्तानबुलबाट झन्डै १२ सय किलोमिटर टाढा छ । जसका कारण सूचनाको पहुँच कम भएका कारण भूकम्पमा परी ज्यान गुमाएका र घाइते भएकाहरू कुन देशका नागरिक हुन् भनेर अहिलेसम्म टर्की सरकारले भनेको छैन । 

भूकम्पका कारण कतिपय स्थानमा इन्टरनेट र बिजुली बत्ती नहुँदा मोबाइल चार्ज नभएर पनि सम्पर्क समेत टुटेको बिबिसीले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १५:३९
प्रतिक्रिया दिनुहोस्