गगनको प्रश्न- स्वतन्त्र पार्टीलाई प्रश्न सोध्नै नहुने ?

बुधबार, माघ २५, २०७९

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएर पनि समर्थन कायमै राखेकामा आपत्ति जनाएका छन् । 

काठमाडौँमा बुधबार आयोजित कार्यक्रममा बोल्दै उनले कांग्रेसलाई किन विश्वासको मत दिएको भन्नेहरूले सरकारबाट बाहिरिँदा समर्थन फिर्ता नलिनुको कारणबारे जबाफ दिनुपर्ने बताएका हुन् । 

पहिलो पटक चुनाव लड्दै रास्वपालाई जनताले अथाह साथ दिएको भन्दै उनले त्यो साथ र सहयोग ‘नो नट अगेन’ मुभमेन्टबाट आएको बताए ।

‘राष्ट्रिय स्वतन्त्र पार्टी अहिले आयो । कल्पना गरेभन्दा बढी मत ल्यायो । यसको सन्देश पुराना दलले मनन गर्नुपर्छ, यो सच्चिन दबाब हो,’ उनले भने, ‘सरकारमा चाहिँ किन गएको ? एकैपटक किन गएको ? सरकारमा गएर पुनः किन बाहिरिएको ? अनि किन समर्थन फिर्ता नलिएको ?’

यस्तै महामन्त्री थापाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रश्न सोध्नै नहुने हो ? भनेर प्रश्नसमेत गरेका छन् । ‘अहिले सरकार छाड्दै गर्दा सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने होइन ? सहमति पालना नगर्ने अनि समर्थन फिर्ता किन नलिएको ? हामीलाई विश्वासको मत किन दिएको भनेजस्तै समर्थन फिर्ता किन नलिएको भन्ने प्रश्न उठ्दैन ? कि राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाहिँ प्रश्न सोध्नै नहुने हो ?,’ उनले भने ।

‘सरकारमा किन गएको पनि भन्नुनपर्ने अनि सरकारमा गएको पार्टी सरकारबाट किन बाहिरिएको ? सहमति पालना भएन भनिएको छ । सहमति कसले पालना नगरेको ? प्रधानमन्त्रीले । अनि त्यसो भए प्रधानमन्त्रीसँगै रिस उठ्नुपर्ने होइन र ?,’ उनले प्रश्न गरे ।

यस्तै, उनले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने क्रममा पत्रकार सम्मेलन गरेर नेपाली प्रेसको बदनामी हुने गरी अभिव्यक्ति दिएको भन्दै त्यसले लोकतन्त्रलाई नै कमजोर बनाउने पनि बताए ।

उनले भने, ‘लोकतन्त्रलाई यहाँसम्म ल्याउने कुरामा नेपाली प्रेसको महत्त्वपूर्ण भूमिका छ । म पनि भन्छु, नेपालको प्रेसले पनि आफैँलाई प्रश्न गरोस्, सुधार पनि गरोस् । तर, प्रेसलाई हामीले ब्ल्यांकेट डिसक्रेडिट ग¥यौँ भने त्यसले लोकतन्त्रमाथि नै खतरा पैदा हुन्छ ।’

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १४:०९
प्रतिक्रिया दिनुहोस्