प्रवासी नेपालीको सहयोगमा पदमार्ग निर्माण गरिँदै

बुधबार, माघ २५, २०७९

ढोरपाटन - बागलुङको काठेखोलामा प्रवासी नेपालीको सहयोगमा पदमार्ग निर्माण गरिँदै छ ।  विदेशमा रहेका काठेखोला गाउँपालिका ५ र ६ बिहुँका बासिन्दाले पदमार्ग निर्माणका लागि आर्थिक सहयोग गरेका हुन् ।

वैदेशीक रोजगारीमा रहेका उनीहरुले पदमार्गका साथै सामुदायिक भवन, विद्यालय तथा पर्यटन प्रवद्र्धनका लागि विभिन्न संरचना निर्माण गर्न आर्थिक सहयोग गर्दै आएका छन् ।

अहिले उनीहरुकै सहयोगमा बागलुङको प्रसिद्ध धार्मिकस्थल त्रिपुरेश्वर महादेव मन्दिर जोड्ने पर्यटकीय पदमार्ग निर्माण भइरहेको छ । 

पदमार्ग निर्माणमा हालसम्म ६० लाख खर्च भएको छ । प्रवासीको सहयोगमा १ किलोमिटर पदमार्ग निर्माण भएको निर्माण समितिका अध्यक्ष खगराज कँडेलले जानकारी दिए। 

'मन्दिरसम्म पुग्न सहज होस भनेर पदमार्ग निर्माण गरिएको हो' उनले भने । 

काठेखोला-६ शान्तिचोकदेखि हटिया गाउँ हुँदै मन्दिरसम्म पदमार्ग निर्माण भइरहेको छ । निर्माणका लागि स्थानीयले  जनश्रमदान गर्दैछन् ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको छेउमै रहेको उक्त मन्दिरमा आन्तरिक तथा भारतीय पर्यटकसमेत आउने गरेका छन् । 

पदमार्गबाट पर्यटकलाई मन्दिर पुग्न सहज हुने स्थानीय शिव कँडेलले बताए। पदमार्गमा स्थानीय स्लेट (ढुङ्गा) बिच्छाइएको छ । 

यहाँबाट धौलागिरि, माछापुछ्रे, अन्नपूर्णलगायत हिमाल देख्न सकिन्छ । बागलुङ बजारदेखि करिब १ घण्टामा यहाँ पुग्न सकिन्छ । मन्दिर नजिकै गुरुकुल सञ्चालनको योजना रहेको स्थानीय नरहरी सापकोटाले बताए।

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  ०८:०३
प्रतिक्रिया दिनुहोस्