चुरे फेदमा फनपार्क निर्माण तीव्र

बुधबार, माघ २५, २०७९

सर्लाही - सर्लाहीको चुरे भावर क्षेत्रस्थित हरिवन नगरपालिका–१, कैलाशपुरीमा फनपार्क निर्माण गरिँदैछ । पूर्व–पश्चिम राजमार्गको हरिवन बजारबाट तीन किलोमिटर उत्तरमा उक्त उद्यान निर्माण भइरहेको छ । 

हरिवन नगरपालिकाका प्रमुख कमल बुढाथोकीका अनुसार उद्यानमा ठुलो कदको बुद्धको मूर्ति स्थापना गर्ने तयारी छ । वनभोजस्थल, सेल्फीसेट, जङ्गल पुल तथा चमेनागृहसमेत निर्माण गरिँदै छ । ४ करोड ९७ लाखको लागतमा उद्यान निर्माण भइरहेको प्रमुख बुढाथोकीले जानकारी दिए। 

'पर्यटन मन्त्रालयले ६५ र हरिवनले ३५ प्रतिशत रकम बेहोर्नेछ, थप रकम नगरपालिकाले विनियोजन गर्नेछ,' उनले भने । 

उद्यान निर्माणको ठेक्का गोपिनीगङ्गा कन्स्ट्रक्सन, काठमाडौँले लिएको छ । हाल सो कार्यमा ३०  कामदार कार्यरत छन् । उद्यान २ वर्षभित्र निर्माण सम्पन्न हुने बताइएको छ । 

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  ०६:३५
प्रतिक्रिया दिनुहोस्