नाट्य सम्राटको सम्झना

मंगलबार, माघ २४, २०७९

काठमाडौँ– नाट्य सम्राट् बालकृष्ण समको १२१ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

सम जयन्तीका अवसरमा मंगलबार तिलगंगास्थित सञ्चारग्राममा रहेको बालकृष्ण समको पूर्णकदको शालिकमा माल्यार्पण गरिएको छ ।

त्यस्तै कवि शिरोमणि लेखनाथ पौड्याल र महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्णकदको शालिकमा समेत माल्यार्पण गरिएको थियो ।

कार्यक्रममा त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईं, बालकृष्ण सम फाउन्डेसनका संयोजक मदनदास श्रेष्ठलगायतले त्रिमूर्ति कवि शिरोमणि, नाट्य सम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धाञ्जली हुने धारणा राखे । 

बालकृष्ण समको जन्म १९५९ साल माघ २४ गते काठमाडौँको ज्ञानेश्वरमा भएको थियो । औपचारिक रूपमा समले आइएस्सीसम्म मात्र अध्ययन गरेका भए पनि आफ्नै अध्ययनबाट उनले पूर्वीय एवं पाश्चात्य कला, साहित्य, धर्म, दर्शन, विज्ञान, इतिहास आदिको गम्भीर विवेचना गर्ने सामथ्र्य प्राप्त गरेका थिए । 

बालकृष्ण समले कविता, नाटक, कथा, प्रबन्ध, निबन्ध, जीवनी आदि विभिन्न क्षेत्रमा कलम चलाएका थिए । 

समलाई नेपाली साहित्यमा नाट्य सम्राट्को विशिष्ट सम्मान प्राप्त छ ।

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १२:५६
प्रतिक्रिया दिनुहोस्