३ दशकसम्म विमानस्थलको सपना अधुरै

सोमबार, माघ २३, २०७९

कालीकोट –निर्माण भएको ३७ वर्षपछि पुगे पनि कोटबाडा विमानस्थलमा नियमित उडान भएको छैन । ७ वर्षअघि परीक्षण उडान पनि भयो तर, परीक्षण उडानपछि विमानस्थलमा उडान नियमित भएको छैन । 

विमानस्थल कालोपत्र भएपछि नियमित जहाज आउने आशा बोकेका नागरिक निराश छन् । निर्माण सुरु भएको ३ दशकपछि २०७३ साल माघमा कोटबाडा विमानस्थलमा तारा एअरले परीक्षण उडान गरेको थियो ।

विमानस्थलको कालोपत्र गर्ने काम सकिपछि हवाई प्राधिकरणलाई हस्तान्तरण गर्ने निर्माण कम्पनीको योजना छ । विमानस्थलको टर्मिनल टावर, सुरक्षा भवन, शौचालय, पार्किङलगायतका संरचना निर्माण भइसकेका छन् । खानेपानी, बिजुली, धावनमार्गको सुधार लगायतका काम पनि सम्पन्न भइरहेको विमानस्थल निर्माणमा संलग्न प्राविधिक केदार केसीले बताए ।

विमानस्थल कालोपत्रको ठेक्का पाएको गौरी÷पार्वती श्याम एन्ड शंकर जेभीले सम्झौताअनुसारको काम सकेर हस्तान्तरणको तयारी गरेको छ । कम्पनीले विमानस्थल कालोपत्रका लागि १३ करोड ८६ लाख रुपैयाँमा सम्झौता गरेको थियो । विमानस्थल सुधारमा १५ करोड १४ लाख रुपैयाँ लागेको विमानस्थल कार्यालयले जनाएको छ । ६४० मिटर लम्बाइ रहेको विमानस्थल मोडिने ठाउँमा ३० मिटर र अन्यत्र २० मिटर कालोपत्र भएको छ । कोटबाडा विमानस्थल कर्णालीका मुगु, डोल्पा र हुम्लाको विमानस्थलभन्दा लामो र फराकिलो रहेको प्राधिकरणको दाबी छ ।

विमानस्थलको लम्बाइ ६९० मिटर र चौडाइ ४० देखि ६० मिटर छ । दुवैतिरबाट विमान अवतरण र उडान गर्न सकिने प्राधिकरणले जनाएको छ ।  कोटबाडा विमानस्थल सञ्चालनमा आए नरहरिनाथ, रास्कोट, सान्नीत्रिवेणी, पचालझरना, पलाता, खाडाचक्रसहितका पालिका र अछामको रामारोसनका समेत बासिन्दाका लागि आवतजावतमा सहज हुनेछ । 

नरहरिनाथका गाउँपालिकाका अध्यक्ष  नगेन्द्रबहादुर विष्ट स्थानीयले सधैँ जहाज कहिले चल्छ भनेर सोध्ने गरेको बताउा छन् । 

२०४२ सालमा तत्कालीन जिल्ला पञ्चायत सभापति दीपबहादुर शाहीको पालामा विमानस्थल खन्न ७५ हजार रुपैयाँ बजेट छुट्याइएको थियो । सशस्त्र द्वन्द्वका बेला २०५८ फागुनमा अछाम मङ्गलसेन आक्रमणका दोषी खोज्दै आएको सेनाले धादिङ जोगिमारा, काभ्रे, सिन्धुली र रामेछापका २८ र ७ स्थानीय गरी ३५ जनाको हत्या गरेपछि अवरुद्ध विमानस्थल निर्माणको काम शान्ति सम्झौतापछि पुनः सुरु भएको थियो । कर्णाली राजमार्ग निर्माणसँगै सदरमुकाम मान्मबाट कोटबाडा जान अहिले गाडीमा ३ घण्टा लाग्छ ।
 

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १२:२५
प्रतिक्रिया दिनुहोस्