काहुँडाँडा चिनाउन महोत्सव

आइतबार, माघ २२, २०७९

अन्नपूर्ण – पोखराको उत्तरपूर्वस्थित काहुँडाँडा अहिले आन्तरिक र बाह्य रोजाइको गन्तव्यका रूपमा विकास हुँदैछ । कुनै समय प्रचार–प्रसार अभावले गुमनामजस्तै बनेको यो डाँडा सडकको विस्तारले पर्यटकको रोजाइमा पर्न थालेको छ । यहाँ बनाइएको काहुँ धराहराबाट पोखरा उपत्यका अलवोलक गर्न सकिने भएकाले पनि डाँडा उक्लनेहरू बढिरहेका छन् ।

काहुँडाँडाको अझ प्रचार–प्रसार गर्नका लागि महोत्सव आयोजना गर्न लागिएको छ । पर्यटन प्रवर्द्धन गर्न  अगामी फागुन ४ देखि फागुन १४ गतेसम्म काहुँ धरहरा महोत्सव हुने भएको छ । पर्यटन क्षेत्रको प्रवर्द्धन र विकास गर्दै समृद्ध देश निर्माणका लागि महोत्सव आयोजना गर्न लागिएको महोत्सव आयोजक संयोजक देवबहादुर गुरुङले जानकारी दिए।

काहुँको पर्यटन क्षेत्रको विकास गर्दै दृश्यावलोकनको गन्तव्यका रूपमा विकास गर्न सकिने जनकल्याण क्लबका अध्यक्षसमेत रहेका गुरूङले जानकारी दिए । महोत्सवको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक प्रचार-प्रसार भएमा काहुँ क्षेत्रको विकासमा सहयोग पुग्ने उनको धारणा छ ।

महोत्सव अवधिभर ५० हजार दर्शकले महोत्सवको अवलोकन साथै राष्ट्रिय फूल लालीगुँरासलगायत हिमशृङ्खलाको दृश्यावलोकन गर्ने आयोजकले बताएको छ । महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुति, खुला भजन चुट्का प्रतियोगिता, विद्यालयस्तरीय खुला नृत्य प्रतियोगिता, चित्रकला प्रतियोगिता, लाइभ म्युजिक कन्र्सट, स्थानीय उत्पादनको प्रदर्शनी हुनेछ ।

पोखरा महानगरपालिका–११ स्थित यो डाँडाबाट पोखरा महानगरपालिकाभित्रका ३३ वटै वडासहित माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृङ्खला अवलोकन गर्न सकिन्छ । करिब २ हजार २ सय घरधुरी र १५ हजार जनसङ्ख्या रहेको यस क्षेत्रमा सांस्कृतिक विविधताको समिश्रण अर्थात् ब्राम्हण, क्षेत्री, गुरुङ, मगर र दलितहरूको बसोबास छ ।

पोखरा सहरबाट नजिकै रहेको लालीगुराँस फुल्ने काहुँडाँडामा प्राचीन समय काउना खेती गरिने हुँदा काउनोबाट काहुँ हुँदै अपभ्रंश भएर काँहुडाँडा रहन गएको स्थानीयवासीको भनाइ छ । यस क्षेत्रको विकास र प्रचार–प्रसारका लागि २०६२ र २०७५ मा काँहु धरहरा महोत्सव आयोजना गरिएको थियो ।

 

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  ०७:१२
प्रतिक्रिया दिनुहोस्