मिस नेपालको आवेदन खुला

बिहीबार, माघ १९, २०७९

काठमाडौँ– मिस नेपाल २०२३ का लागि आवेदन खुला गरिएको छ । द हिडन ट्रेजरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमार्फत नयाँ संस्करणका लागि आवेदन खुला गरेको जनाएको हो ।

प्रतियोगितामा सहभागी हुन इच्छुकले आगामी चैत १ गतेसम्म मिस नेपालको वेबसाइटमार्फत निःशुल्क आवेदन दिन सक्नेछन्  । 

यो प्रतियोगितामा यसअघि जस्तै मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेशनल गरी तीन मुख्य विजेताहरू हुने आयोजकले जनाएको छ ।

नयाँ संस्करणको प्रतियोगितामा सातै प्रदेशबाट प्रत्यक्ष अडिसन हुने भएको छ । पत्रकार सम्मेलनमा प्रतियोगितालाई फराकिलो बनाउँदै सातै प्रदेशमा अडिसन आयोजना गरिने र स्थानिय प्रतिस्पर्धीलाई समेट्ने तयारी गरिएको द हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले बताए ।

काठमाडौं अडिसन आगामी चैत ४ गते तथा इटहरी, वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढीलगायतमा क्षेत्रीय अडिसन आवेदन सङ्कलन गरिएलगतै गरिने अध्यक्ष राजकर्णिकारले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  २१:०४
प्रतिक्रिया दिनुहोस्